अध्यादेशकाे पक्षमा कांग्रेसका थारू नेताहरू एकजुट, तुहाउने खेल भए चुप लागेर नबस्ने चेतावनी
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २७, मंगलबार
काठमाडाैं- सरकारले ल्याएको अध्यादेशकाे पक्षमा सत्तारुढ दलका थारू नेताहरू एकजुट भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले अध्यादेशको बचाउमा मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्यहरू रामजनम चौधरी, योगेन्द्र चौधरी, गोपाल दहित, कल्पना चौधरीलगायतहरूले अध्यादेशको स्वागत गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत आफ्नै नेताहरूको अभिव्यक्तिलाई कडारुपमा आलोचना समेत गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अध्यादेशको विरोध गर्नेहरूलाई प्रतिवाद गर्ने भन्दै अध्यादेश तुहाउने खेल खेलिए चुप लागेर नबस्ने चेतावनीसमेत दिए।
उनले रेशम चौधरीलाई उपचारका क्रममा नेल लगाउँदा मानवअधिकारकर्मीहरू कहाँ हराएको भन्दै प्रश्न गरे। 'रेशम चौधरी एउटा व्यक्ति जसलाई राज्यले गलत ढंगले मुद्दा लगायो। ती व्यक्ति बिरामी हुँदा अस्पताल भर्ना गरिन्छ। अस्पतालमा राणा शासनमा नभएको दुर्व्यवहार नेल लगाएर राखिन्छ। त्यतिबेला लोकतन्त्रका दुहाइ दिने नेताहरुले मानव अधिकार हनन भयो भनेर किन आवज उठाउँदैन?,' उनले प्रश्न गरे।
त्यस्तै कांग्रेसका अर्का केन्द्रीय सदस्य रामजनम चौधरीले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दाहरूको सुरक्षित अवतरण गर्न अध्यादेश ल्याएको भन्दै अध्यादेशको स्वागत गरे।
त्यस्तै अर्का केन्द्रीय सदस्य गोपाल दहितले पनि अध्यादेशको बचाउ गरेका छन्।
माओवादीका पोलिटव्युरो सदस्य सन्तकुमार थारूले अध्यादेशको स्वागत गर्दै पार्टीभित्र दबाब दिनका लागि थारू नेताहरू एकीकृत भएको बताए। महामन्त्री विश्वप्रकाश शर्माले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्णरुपले गलत भएको बताएका थिए।
Categorized in राजनीति

