अनलाइनले सेवाग्राही मर्कामा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार
जिल्ला मालपोत कार्यलय कपिलवस्तुमा अनलाईन सेवा लागू भएपछि सेवाग्राही झन मर्कामा परेका छन् । कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दा नभएपछि कामका लागि दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि अनलाईन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन् ।
अनलाईन प्रणालीमार्फत टोकनबाट सेवा प्रवाह गर्ने लक्ष्य लिए पनि त्यो प्रभावकारी हुन नसकेको अधिकृत पौडेलले बताउनुभयो । अनलाईन प्रणालीबाट काम गर्न सहज र छिटो हुने भनिए पनि सुरुमा यो प्रणाली असहज बनेको उहाँले बताउनुभयो । अहिले कम्प्युटरमार्फत ४ जनाले सेवा दिइरहेका छन । एउटा सेवाग्राहीलाई डेढ÷दुई घण्टा समय लागिरहेको कार्यालयले जनाएको छ । कर्मचारीको कार्यक्षमता कमजोर हुँदा यस्तो समस्या आएको सेवाग्राहीको गुनासो छ । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा घण्टौं लाईनमा बसेर पनि काम नहुँदा सेवाग्राही समस्यामा पर्न बाध्य छन् ।
कार्यलयमा रहेका केही फाँटमा कर्मचारी नहुँदा एउटै कर्मचारीले २÷३ ओटा कोठामा पालो अनुसार डुलेर काम सक्नुपर्ने बाध्यता छ । यसो गर्दा एउटा फाँटको काम सकेर अर्को फाँटमा पुग्ने सेवाग्राही अड्किएर बस्नुपर्ने हुन्छ । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “हामीले निकै मिहिनेत गरेर धेरैजसो सेवाग्राहीका काम त एकै दिनमा सकाएर पठाउने गरेका छौँ ।” बिहान ७ बजेबाट नै साझसम्म बसेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको उहाले बताउनुभयो । मुलुक सङ्घीयतामा गइसकेपछि छिटो, छरितो र पारदर्शी रुपमा सार्वजनिक सेवा पाउने आशा सेवाग्राहीको छ तर कर्मचारी अभावका कारण उनीहरु झनै पीडा पाएको दुःखेसो सेवाग्राहीको छ ।
अर्घाखाँचीबाट जग्गा पासका लागि आउनु भएकी सुन्दर थापाले गाउँ गाउँमा अधिकार पाइन्छ रे भन्ने सुनेका थिए तर मालपोत कार्यालयमा धाउँदा हैरान भएपछि उहाँले जुनसूकै व्यवस्था आएपनि दुःख पाउने जनता नै रहेछन भन्ने लागेको वताउनुभयो ।
Categorized in राष्ट्रिय


