STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनशनरत युवाको माग सम्बोधन गर्न देउवाको आग्रह

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १७, शनिबार

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई आज वसन्तपुरमा भेटेर उहाँले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।

सभापति देउवाले भन्नुभयो, “अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको घोर भत्र्सना गर्छु ।”

उहाँले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । काँग्र्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको बताउनुभयो । “सरकारले आफ्ना प्रतिनिधि पठाएर मागलाई तत्काल सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यसअघि काँग्रेस नेता प्रकाशमान सिंह, पूर्वमन्त्री नविन्द्रराज जोशीलगायतले अनशनरत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइसक्नुभएको छ । शतप्रतिशत पिसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीहरुको भनाइ छ ।

Categorized in राजनीति