STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन अपिल

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ७, बुधबार

काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवस जनस्तरीय अभियानले फागुन ९ गते शुक्रबार काठमाडौंको असनमा भव्य रुपमा मातृभाषा दिवस मनाउन सहभागिताको अपिल गरेको छ । अभियानले उक्त दिन बिहान १० बजेदेखि नै मातृभाषाको अधिकारलाई लिएर हस्ताक्षर अभियान थाल्ने जनाएको छ । यसका साथै मातृभाषाको संरक्षणमा लागेका नेपालभाषाका अग्रजहरुको तस्बिर प्रदर्शनी गर्ने र मातृभाषा अधिकार सम्बन्धी विविध नाराहरु प्रदर्शन गर्ने कार्यक्रम अभियानले राखेको छ । अभियानले मातृभाषा दिवस मनाउन जारी गरेको अपिल जस्ताको तस्तै :

विश्व मातृभाषा दिवस सफल पारौं

आदिवासी जनजातिको मातृभाषाको संरक्षण र अधिकारका लागि एकताबद्ध होऔं

अपिल

अन्तर्राष्ट्रिय मातृभाषा दिवस फ्रेबुअरी २१ मा विश्वभरी मनाउने गरिन्छ । यो दिवसको मूल उद्देश्य भाषिक र सांस्कृतिक विविधताको प्रवद्र्धन गर्नुका साथै विश्वभर बोलिने सबै भाषाको संरक्षण गर्नु हो । यो दिवस मनाउन युनेस्कोले नोभेम्बर १७, १९९९ मा निर्णय गरी फ्रेबुअरी २१, २००० देखि मनाउन थालेको हो । फ्रेबुअरी २१, १९५२ मा बंगलादेशमा बंगाली भाषा सरकारी कामकाजी भाषा हुनुपर्ने माग राखी गरिएको आदिवासी जनताको न्यायोचित संघर्षलाई तत्कालीन पाकिस्तानी शासकले क्रुर दमन गरी आम नरसंहार गरेको स्मृति दिन पारेर यो दिवस मनाउने गरिएको हो । नेपालको सन्दर्भमा आदिवासी जनजातिको भाषालाई सधै राज्यसत्ताले निषेध गर्ने र पढ्ने–लेख्ने अवसरबाट वञ्चित गर्ने काम खस अहंकारवादी शासकहरुले गर्दै आएका छन् । यसविरुद्ध नेवाः समुदायले निरन्तर संघर्ष गर्दैआएको छ । आज विश्व मातृभाषा दिवसको दिन हाम्रा अग्रजहरु चित्तधर हृदय, महाकवि सिद्धिदास महाजु, पं. निष्ठानन्द वज्राचार्य, माष्टर जगतसुन्दर मल्लदेखि प्रेमबहादुर कसाः, पद्मरत्न तुलाधर र भाषिक आन्दोलनका सम्पूर्ण अग्रजहरुलाई नमन गर्दछौं । नेपालभाषालाई राज्यसत्ताबाट अधिकार दिलाउने संघर्षमा निरन्तर होमिने प्रण गर्दछौं । देशभित्र भएका विविध राजनीतिक संघर्षमा नेवाः समुदायलगायत आदिवासी जनजातिहरुको सहभागिता र बलिदानी रहेको छ । २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, दस वर्षे जनयुद्ध र २०६२–०६३ को महान जनआन्दोलन पश्चात् हामी संघीय गणतन्त्र नेपालका नागरिक भएका छौं । तर राज्य व्यवस्था परिवर्तन भए पनि र शासकहरु फेरिए पनि आदिवासी जनजातिको मातृभाषालाई अधिकार दिने काम भएको पाइँदैन, हामी आदिवासी जनजातिहरु सधैं ठगिएको महसुस गर्न बाध्य छौं । हालै जारी शिक्षा ऐनले हाम्रो अनिवार्य मातृभाषा शिक्षाको मागलाई अस्वीकार गरेको छ । नेपालभाषालाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता नदिने षड्यन्त्र भइरहेको छ । नेपालको संविधानको धारा ९(१)मा प्रयोग गरिएको व्यहोराले हामीबाट आफ्नो मातृभाषामा राष्ट्रियगान गाउने अधिकारसमेत खोसिएको अवस्था छ । यसको विरोधमा आजदेखि नै आ–आफ्ना मातृभाषाबाट राष्ट्रियगान गाउने अभियान अघि बढाउन सबै आदिवासी जनजातिहरुमा अनुरोध गर्न चाहन्छौं । हाम्रा अग्रजहरुको ‘भाषा बाँचे मात्र जाति बाँच्न सक्ने’ यथार्थ वाणी रहेको छ । त्यसैले आज विश्व मातृभाषा दिवसको दिन राज्यसत्ताले हाम्रो मातृभाषा नेपालभाषालाई समाप्त गरी नेवार जातिको पहिचान र अस्तित्व नै समाप्त पार्ने अन्यायपूर्ण षड्यन्त्रलाई बुझेर एकताबद्ध संघर्ष गर्ने संकल्पका साथ अपिल गर्न चाहन्छौं ।

जय मांभाय्, जय नेवाः

नारा १) मातृभाषामा राष्ट्रियगान गाउने व्यवस्था गर ! २) अनिवार्य मातृभाषा शिक्षाको ग्यारेन्टी गर ! ३) नेपालभाषालाई सरकारी कामकाजी भाषा घोषणा गर ! ४) मातृभाषाको रक्षा गर्न सम्पूर्ण आदिवासी जनजाति एक होऔं !

आयोजक मातृभाषा जनस्तरिय अभियान ने.सं. ११४० सिल्लाथ्व त्रयोदशी (फागुन ९) शुक्रबार


 
Categorized in राष्ट्रिय