अन्तर्राष्ट्रिय सुटिङ रेञ्ज बनाउन जग्गा माग
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार
नेपाल सुटिङ सङ्घले अन्तर्राष्ट्रियस्तरको सुटिङ रेञ्ज निर्माणका लागि टीकापुर नगरपालिकासँग जग्गा माग गरेको छ । नगरपालिका क्षेत्रभित्र जग्गा उपलब्ध भए उक्त रेञ्ज निर्माण गरिने पत्र सङ्घले नगरपालिकालाई पठाएको हो ।
‘‘टीकापुरलाई सुटिङस्थल बनाउन सकिने सम्भावना छ । यहाँ जग्गा पनि अभाव छैन ।’’सङ्घका सचिव प्रदीप खातीले भन्नुभयो, ‘‘हामीलाई एक बिघा जग्गा आवश्यक छ, नगरपालिकाले दिएमा हामी यही लगानी गर्छौ ।’’
उक्त सङ्घले यही जेठ १५ गते नगरपालिकालाई पत्र पठाइ जग्गा उपलब्ध भए अन्तर्राष्ट्रियस्तरको रेञ्ज निर्माण गर्ने प्रतिबद्धता जनाएकाले उक्त नगरपालिकाले पनि जग्गा उपलब्ध गराउने बताएको छ ।
‘सुटिङ रेञ्ज निर्माण हुनु टीकापुर क्षेत्रको लागि गौरवको कुरा हो ।’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो,‘‘म यो विषयमा छलफल चलाउछु, सबै सरोकारवालासँग छलफल गरी जग्गा उपलब्ध गराउने वातावरण बनाउँछु ।’’ उहाँले नगरपालिकासँग पूर्वाधार निर्माणका लागि जग्गा अभाव नरहेकाले यहाँको विकासका योजनालाई सधैँ स्वागत गरिने जानकारी दिनुभयो ।
उक्त नगरपालिकास्थित सुटिङ क्लबको पहलमा सो रेञ्ज निर्माणका लागि नेपाल सुटिङ सङ्घले पहल थालेको टीकापुर सुटिङ क्लबका अध्यक्ष दिलबहादुर ठकुल्लाले बताउनुभयो । ‘‘सुटिङका लागि सुदूरपश्चिममा सबै ठाउँ सम्भव छैन, राष्ट्रपति खेलकूदका लागि पनि सुदूरपश्चिमका खेलाडी छनोट टीकापुरमै गरिन्छ ।’’ अध्यक्ष ठकुल्लाले भन्नुभयो, ‘‘यहाँ जमीन पनि छ र सम्भावना पनि छ । त्यसैले हामीले पहल गरिरहेका छौं ।’’
उक्त रेञ्ज बनेमा टीकापुरका खेलकूदका गतिविधि बढ्नेछन् । नगरपालिकामा खेलकूदको विकासका लागि २२ बिघा जमीन हुँदा पनि यहाँ खेलकूदका खासै गतिविधि हुनसकेको छैन ।


