STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

जिल्लाको शिखर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आजदेखि परिचयपत्र वितरण गर्न शुरु गरेको छ ।
अपाङ्गता भएका व्यक्तिलाई विभिन्न किसिमका सहुलियत दिने उद्देश्यका साथ नगरपालिकाले आफ्नो नगरमा भएका अपाङ्गता भएका सबै व्यक्तिलाई परिचयपत्र दिन शुरु गरेको नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा, स्वास्थ्य, नगर बसलगायतका अन्य सेवा दिने निर्णय गरेका छौँ, सोही अनुरुप सबैलाई पायक पर्ने ठाउँमै गएर परिचयपत्र वितरण गर्न थालेका हौँ ।”
नगरप्रमुख जोशीले आज शिखर नगरपालिका–६ सेरा बस्ने १४ वर्षीय विनोद बोहरालाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाले सदैव सम्मान गरीरहेको र नगर भित्ररहेका त्यस्ता व्यक्तिलाई परिचयपत्र वितरण कार्यक्रमले सजिलो भएको शिखर नगरपालिका–२ का रमेश जोराले बताउनुभयो । 
उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेर नगरपालिकाले राम्रो काम गरेको छ, यो परिचयपत्रले उनीहरुले आफूले पाउने सुविधा सहजै पाउने छन् ।” उक्त नगरपालिकामा दजर्नौको सङ्ख्यामा अपाङ्गता भएका व्यक्ति रहेको बताइएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारासाथ सरकारले स्थानीय तहलाई प्रदान गरेको अधिकारअनुसार नगरपालिकाले परिचयपत्र वितरण कार्य शुरु गरेको नगरउपप्रमुख धौलीदेवी रावलले बताउनुभयो ।
नगरपालिकामा आएर परिचयपत्र लिन नसक्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा गएर परिचयपत्र दिने व्यवस्था मिलाइएको छ । शिखर नगरपालिका र महिला बालबालिका एकाइको आयोजनामा उक्त नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरेको हो ।
यसअघि दिपायल सिलगढी नगरपालिकाले पनि आफ्नो नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै घरमा गएर अपाङ्गता परिचयपत्र वितरण गरिसकेको छ । घरैमा अपाङ्गता परिचयपत्र पाउन थालेपछि अहिले यहाँका अपाङ्गता भएका व्यक्ति निकै खुसी हुन थालेको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले बताउनुभयो । 
Categorized in राष्ट्रिय