अमेरिकी सीमातर्फ हिँडेका २,००० बढी व्यक्ति मेक्सिकोमा पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार
बुधबार, मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरू मार्फत ४६० जना होन्डुरसका नागरिकलाई उनीहरुकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ ।
ग्वाटेमालाको टेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौं व्यक्तिले सोमबार बिहान सीमावर्ती सुसिएट नदी पार गर्ने प्रयास गरेका थिए । उनीहरुले मेक्सिकोका अधिकारीहरु समक्ष संयुक्तराज्य अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए ।
मेक्सिकोका अधिकारीहरूले जवाफ नदिएपछि उनीहरु जबर्जस्ती नदी तर्न थालेका थिए । यस मौसममा नदी त्यति गहिरो छैन । तर मेक्सिकोको सेनाले उनीहरुमाथि तितरबितर बनाउन र फिर्ता गर्न अश्रुग्यास प्रहार गरेको थियो ।
सेनाको कारबाहीका बाबजूद करिब ५०० व्यक्ति अवैधानिक रूपमा मेक्सिको प्रवेश गर्न सफल भएका थिए, यद्यपि तीमध्ये करिब ४०० लाई पछि पक्राउ गरिएको थियो ।
मध्य अमेरिकी राष्ट्रहरु एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरिबी र हिंसाका कारण भागेका हजारौं व्यक्ति सुरक्षित भविश्यको खोजीमा मेक्सिको पार गर्दै संयुक्तराज्य अमेरिकातिर लागेका हुन् ।
मेक्सिकोको सेनाले निरुत्साहित गरेका कारण ग्वाटेमालाका व्यक्तिहरु स्वदेश फर्कन राजी भएका छन् ।
आप्रवासीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष निर्वाचित मेक्सिकोका राष्ट्रपति आन्द«ेस म्यानुएल लोपेज ओब्राडोरले प्रवासीहरु दक्षिणी मेक्सिकोमा रहन चाहेमा ४,००० जनालाई रोजगारी दिने प्रस्ताव गर्नु भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाई गर्न निरन्तर दबाब दिनुभएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो । अमेरिकाले आफ्नो देशतर्फ अनधिकृत रुपमा प्रवेश गर्न चाहनेमाथि कडा कदम नचाले मेक्सिको विरुद्ध व्यापार शुल्क बढाउने धम्की दिएको थियो । अमेरिकाको आग्रहमा राष्ट्रपति ओब्राडोरले देशको सिमानामा करिब २६,००० सेना खटाउनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय


