STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अरनिको राजमार्ग निर्माण गरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २४, मंगलबार

सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । गत साउन २५ गते राति परेको भारी वर्षाका कारण चाखोलामा गएको बाढीले खोला दायाँबायाँ काटिएर ठाउँ÷ठाउँमा भासिएर क्षति पुगेको अरनिको राजमार्गको जेरोकिलो दोलालघाट सडकखण्डअन्तर्गत ५४ किलो आसपासको सडक भत्किएपछि एकतर्फी रुपमा सवारी सञ्चालन हुँदै आएको छ । राजमार्ग भत्किएपछि सो क्षेत्रमा करीब एक महीनादेखि एकतर्फीरुपमा मात्र सडक सञ्चालन हुँदै आएको हो । भत्किएको सडक निर्माणका लागि तीन ठाउँमा खोलादेखि नै जग उठाएर पर्खाल लगाउने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अनन्द श्रेष्ठले बताउनुभयो । “भत्किएको सडकको अनुगमन गरी माथि बुझाएको विवरणका आधारमा तीन ठाउँमा आकस्मिक रुपमा निर्माण गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “छुट्टाछुट्टै सूचना आह्वान गरी निर्माण थालनी गरेको एक महीनाभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।” भत्किएको ठाउँका आधारमा गरी रु एक करोड ३४ लाख ९८ हजार, ७४ लाख र रु एक करोड ६५ लाखमा गरी कूल रु तीन करोड सात लाख ३८ हजारमा सडकको काम भइरहेको छ । तत्कालीन अवस्थामा गरिएको अनुगमनका क्रममा अन्य चार÷पाँच ठाउँमा भासिएको सडकखण्ड भने विस्तारै मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढाइसकिएको उहाँले बताउनुभयो । इञ्जिनीयर श्रेष्ठका अनुसार अहिलेसम्ममा ७० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी ३० प्रतिशत काम निर्माणको चरणमा रहेको छ । सम्झौताअनुसार बाँकी काम आगामी असोज ७ गतेभित्रमा सम्पन्न गर्नुपर्ने छ । तोकिएको समयमा नै काम सम्पन्न हुने उहाँले बताउनुभयो । बाढीले बगाएर सडक नै काटिएपछि यसअघि प्रहरीले भारी सवारीसाधन मालबाहक गाडी चल्नमा रोक लगाइएको थियो ।
Categorized in राष्ट्रिय