अविरल वर्षाले नेपालगञ्ज डुबानमा
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १, बुधबार
नेपालगञ्ज क्षेत्रमा वर्षा भए पनि जिल्लाको पूर्वी क्षेत्र र दाङ तथा प्यूठानमा ठूलो वर्षा नभएकाले राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा राप्ती नदीको सतह सामान्य रहेको छ । प्रहरी उपरीक्षक वलीले बाढी र डुबानबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले नेपालगञ्ज, खजुरा क्षेत्र डुबानमा परे पनि राप्दी नदीमा भने पानीको सतह अहिलेसम्म नबढेको बताउनुभयो ।
नेपालगञ्जलाई डुबानमुक्त बनाउन अधिकांश सडक र नाली निर्माण गरिए पनि समस्या भने कायमै रहेको छ । सामान्य वर्षाद्ले पनि नेपालगञ्जको मुख्य बजार क्षेत्र न्यूरोड, घरबारीटोल, गणेशपुर, बसपार्कलगायतका बजार क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार डुबान भएका स्थानमा पानीको बहाव खोल्नका लागि उपमहानगरपालिकाका कुचीकार र प्राविधिक शाखाका कर्मचारी जेसिभीसहित तैनाथ रहेका छन् ।
“शहरमा डुबान हुन नदिन नाली बनिरहेका छन्, तर पनि डुबानमुक्त हुन सकेको छैन ।”, प्रवक्ता रिजालले भन्नुभयो, “पानी निकासको वैज्ञानिक स्थायी निकास नहुँदासम्म समस्या भइरहन्छ ।” एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले शहरी विकास आयोजना, परियोजना कार्यान्वयन एकाइअन्तर्गत सडक तथा नाला निर्माणको काम गरिरहेको छ ।
न्यूरोड क्षेत्रमा डुबान हुन नदिन गत वर्षमात्रै उचाइ बढाएर सडक तथा नाली निर्माण भएको थियो । प्रवक्ता रिजालले समथर भू–भाग भएकाले सहज तरिकाले पानीको निकास हुन नसक्दा डुबान हुने गरेको बताउनुहुन्छ ।
Categorized in अपराध-दुर्घटना


