अवैध रुपमा द्वन्द्वरत मुलुकमा जाने क्रम रोकिएन
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार
वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित बनाउन भन्दै सरकारले विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरेपनि अझै कामको खोजीमा अवैध तरिकाबाट विदेशिने प्रवृत्तिको अन्त्य हुनसकेको छैन ।
आकर्षक सेवा सुविधा पाउने आशामा अहिले पनि दलालको प्रलोभनमा भारत हुँदै तेस्रो मुलुक जाने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो रहेको छ । अवैधानिक प्रक्रियाबाट विभिन्न मुलुक जाने नेपालीको यथार्थ सङ्ख्या कुनै पनि सरकारी निकायसँग छैन । कार्यरत मुलुकमा कुनै अप्ठ्यारोमा परेर सरकारसँग हारगुहार गरेपछि मात्र सम्बन्धित मुलुकमा नेपाली पनि रहेछन् भनेर थाहा पाउनुपर्ने अवस्था देखिएको छ ।
पछिल्लो समय सरकारले वैदेशिक रोजगारीमा जान रोक लगाएका मुलुकमा पनि अवैध बाटोबाट नेपाली युवा कामको खोजीमा गइरहेका छन् । अहिले पनि विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा नेपाली कार्यरत रहेको श्रम, आप्रवासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनले जनाएका छन् । दलालले आकर्षक कमाइ हुने मुलुकमा लैजाने भनेर मध्यपूर्वका द्वन्द्वग्रस्त देशमा लगेर अलपत्र छाड्ने गरेको पटक÷पटक सार्वजनिक भएको छ ।
यसैबीच, दलालले अवैध बाटो हुँदै द्वन्द्वग्रस्तमुलुक लिबिया पु¥याएका १५ नेपाली नागरिकको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी लिबियाको ट्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम०को शिविरमा राखिएको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएका नेपालीलाई आइओएमले नै खाने बस्ने प्रबन्ध मिलाएको छ । आइओएमले नै उनीहरुलाई नेपाल पठाउन हवाई टिकटको व्यवस्था गर्ने जनाएको छ ।
उनीहरुलाई डर, त्रास देखाइ द्वन्द्वग्रस्त क्षेत्रका विभिन्न कम्पनीमा काममा लगाइएको थियो । ट्रिपोलीमा रहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति नियोगको नेपाली सेनाले समेत लिबियाको सुरक्षा निकाय तथा आइओएमसँग समन्वय गरी उनीहरुको उद्धारमा सहयोग प¥याएको दूतावासले जनाएको छ । युद्धग्रस्त क्षेत्रमा काम गरिरहेको उनीहरुको उद्धारका लागि दूतावासबाट भएको पटक÷पटकको प्रयासपछि आइओएमको क्याम्पमा ल्याउन सफलता मिलेको हो ।
उद्धार गरिएकामा पूर्णबहादुर गुरुङ, गणेशबहादुर थापा, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर अधिकारी क्षेत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर विश्वकर्मा, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, प्रकाश विश्वकर्मा र मनोहर कार्की रहेका छन् ।
उद्धार गरिएका नेपालीको स्वास्थ्य परीक्षण भइरहेको र नेपाल फिर्ता हुन आवश्यक कागजात बनाउने काम भइरहेको छ । “आवश्यक प्रक्रिया पूरा हुने वित्तिकै नेपाल फर्काइनेछ”, दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनीहरुको राहदानी दलालको कब्जामा रहेको पाइएपछि कायरोस्थित नेपाली दूतावासले स्वदेश फर्कनका लागि ‘ट्राभल डकुमेन्ट’ बनाएर पठाएको छ ।
यसैगरी दूतावासको सक्रियतामा गत वैशाख २४ गते लिबियाको द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्दै आएका सात नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको थियो । अनुश लामा, किरण खड्का, सिरज रायमाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमसिल थारु र प्रेमलाल गौतमलाई नेपाली एजेन्टले इटाली पठाउने प्रलोभन देखाइ लिबिया पु¥याइ अलपत्र पारेका थिए ।
पछिल्लो समय अवैधानिकरुपमा लिबिया पुगेका नेपालीको उद्धार गर्न कायरोस्थित दूतावासले सक्रियता बढाएको छ । आइओएमको क्षेत्रीय कार्यालय, ट्रिपोलीस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति नियोग र सोही नियोगमार्फत शान्ति स्थापनार्थ खटिइएको नेपाली सेनासँग नियमित सम्पर्क र समन्वय गरी नेपालीको अवस्था बुझ्ने काम भइरहेको दूतावासका द्वितीय सचिव सुजन विडारीले जानकारी दिनुभयो । अलपत्र परेका नेपालीलाई सुरक्षित र जतिसक्दो छिटो उद्धार गर्न उच्च प्राथमिकताका साथ काम भइरहेका उहाँको भनाइ थियो ।
सरकारले संस्थागत रुपमा विभिन्न ११० मुलुकमा नेपाली रोजगारीका लागि जान सक्ने गरी खुल्ला गरेको छ । पछिल्लो समय द्वन्द्वको चपेटामा परेको भन्दै सरकारले अफगानस्तिान, इराक र लिबियामा नेपालीलाई रोजगारीमा जान प्रतिबन्ध लगाएको छ ।
Categorized in राष्ट्रिय


