STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असहाय देवीलाई नयाँ घर

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् ।मेचीनगर–९ मा रु छ लाख २० हजारको लागतमा निर्मित चार कोठे घर उहाँलाई आज आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्किदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्न पाउँदा देवीमायाले खुशीका आँशु झार्नुभएको थियो ।
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरीद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको चारकोठे पक्की भवन बनाइएको छ ।
देवीमाया शारीरिक असक्त हुनुहुन्छ । उहाँको एउटा हात बिहेअघि नै करेन्ट लागेका कारण काटेर फाल्नुपरेको थियो । बच्चा स्याहार्ने, खाना पकाउने, लुगा धुनेलगायत सबै काम उहाँ एउटै हातले गर्नुहुन्छ ।उक्त भवनमा भान्छाका सबै सामान, काठको पलङ, भाडाकुडा, सौर्य उपकरण, बिजुली पङ्खा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल  बिछ्याइएको शौचालय, धारालगायतको  व्यवस्था गरिएको घर निर्माण समितिका सचिव टिकाराम मग्रातीले बताउनुभयो ।
देवीमायाको नाजुक अवस्था सार्वजनिक भएपछि दुई महीनाअघि स्थानीयवासीले विजय डालमियाको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरेका थिए । समितिले देशविदेशका नेपालीबाट स्वस्फूर्तः जुटेको सहयोगबाट घर निर्माण गर्नाका साथै आगामी दिन देवीमायाको जीवन निर्वाहका लािग रु पाँच लाख कोषमा राखिदिने योजना बनाइएको उहाँको भनाइ थियो । गृहप्रवेश कार्यक्रममा बोल्दै जग्गादाता शर्माले देवीको घर, घरमात्र नभएर मन्दिर बनेजस्तो अनुभूति भएको बताउनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले गर्न नसकेको काम स्थानीयवासी आफैले गरेर देखाइदिएको बताउनुभयो । 
Categorized in राष्ट्रिय