STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अहिलेकै अवस्थामा निगमलाई पैसा दिन सकिन्न प्रम

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

आर्थिकरूपमा कमजोर बनेको निगमको अवस्थालाई उकास्न सरकारलगायत सबै क्षेत्रको सक्रियता हनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन सञ्चालनको सुव्यवस्थाविनै पैसा दिन मिल्छ भन्नेमा मलाई विश्वास छैन ।” प्रधानमन्त्री ओलीले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्दै आर्थिक अवस्था सुधार्न सरकारले आवश्यक परे हस्तक्षेप गरेर भएपनि निगमको साख जोगाउने विश्वास दिलाउनुभयो । आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पूँजी वृद्धिका लागि सरकारसँग रु २० अर्ब माग गरेको छ । निगमले अहिले रु ३७ अर्ब घाटामा रहेको जनाएको छ । भएका जहाज पनि सञ्चालन नभइरहेको अवस्थामा निगमका कर्मचारी सङ्गठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरीदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार बिलकुल नभएको प्रष्ट पार्नुभयो । “निगममा रु ३७ अर्ब घाटा के कारणले, कसरी हुनपुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ, कतै निगमकै कमजोरीका कारण यो अवस्था आएको हो कि रु अहिलेको सरकार चर्चापरिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन रु मैदानभरि जहाज छन् तर आकासमा उड्दैनन् यस्तो अवस्था सधैँ रहिरहनु उचित हुन्न”, उहाँले भन्नुभयो । गम्भीर चुनौतीको सङ्घारमा रहेको निगमलाई सफल बनाउन सरकारको पनि दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ‘निगमलाई सहयोग गर्ने मात्र नभई काँधै थाप्छ, यो आफ्नै वायु सेवा निगम हो, तर, उपयुक्त ढङ्गले सञ्चालन हुनुपर्छ’ भन्नुभयो । उहाँले वाइडबडी जहाज लामा गन्तव्यमा उड्न नसक्नु तथा गन्तव्य विस्तारको प्रभावकारी योजना अभावले निगम आर्थिक सङ्कटमा पर्न गएको उल्लेख गर्दै लामा गन्तव्यमा उडानका लागि पहल थाल्न आग्रह गर्नुभयो । निगमलाई सुधार्नु निकै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले थप्नुभयो– “निगमको ६१ वर्षको उपलव्धि ३७ अर्ब ऋण छ, यो क्षेत्र ‘दान, पुण्य, समाज सेवाको’ क्षेत्र मात्र होइन, यो त व्यापार व्यवसाय पनि हो, निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो वायु सेवा निगम होइन, यसले आफूलाई टिकाउन र भविष्यलाई सुदृढ तुल्याउन व्यापार बढाउन जरुरी छ ।” पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भ्रमण वर्षको सन्दर्भमा निमगको सञ्चालन क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गन्तव्य विस्तार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ काम अघि बढाइने जानकारी दिनुभयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनेकन चुनौतीका बीच पनि निगमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनीको रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो । निगमका जहाज पूर्णरूपमा सञ्चालन तथा लामा गन्तव्यमा उडान विस्तार गर्न नसकिएकै कारण अपेक्षित नाफा आर्जन गर्न नसकेको भन्दै उहाँले वाइडबडी जहाजबाट भदौ पहिलो साता जापानको ओसाका तथा क्रमशः चीनको ग्वोञ्जाओ र साउदी अरेबियाको रियाद गन्तव्यमा उडान विस्तारका लागि प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो । निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा नयाँ गन्तव्य विस्तारका लागि धमाधम काम भइरहेको उल्लेख गर्नुभयो । निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगी र निगम कर्मचारी सङ्घका अध्यक्ष तारिणिराज दाहालले निगम सुधारका लागि जहाजको सङ्ख्या वृद्धि र गन्तव्य विस्तारमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय