STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आक्रमणकारी माथि कारवाही नभए संसद् अवरुद्ध गर्ने देउवाको चेतावनी

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २८, शनिबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आप्mना पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ । आज नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नु भयो, “सरकारले घटनाका दोषीहरुलाई कानूनी दायरामा नल्याएसम्म आप्mनो दल चुप लागेर बस्दैन ।” बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्नेहरु लोकतान्त्रिक व्यवस्थाका हिमायती हुनै नसक्ने भन्दै सभापति देउवाले त्यस्ता व्यक्तिलाई कसैले काँखी च्याप्छ भने त्यसका विरुद्ध पनि काङ्ग्रेस देशव्यापी विरोधमा उत्रने छ भन्नुभयो । उहाँले शान्तिपूर्ण तरिकाले आफ्नो कार्यक्रम गरिरहेका बेला पार्टी सभापतिसहित अन्य नेता कार्यकर्तामाथि आक्रमण हुनु निन्दनीय भएको बताउनुभयो । जनताको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको भन्दै सभापति देउवाले भन्नु भयो, “भ्रष्टाचार विरुद्ध बोल्दा काङ्ग्रेसका नेता, कार्यकर्ता कुटिनु लज्जाको विषय हो ।” बाँके पार्टी सभापति कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जनजागरण कार्यक्रमका केन्द्रीय सदस्य किशोरसिंह राठौर, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायतका स्थानीय नेताहरुले पनि बोल्नुभएको थियो । आजै दिउँसो काङ्ग्रेसले नेपालगन्ज बिपी चोकमा मैनबत्ती बालेर सरकार, सत्तारुढ दल नेकपा र प्रहरी प्रशासन विरुद्ध सांकेतिक विरोध गरेको छ । दिउँसै अन्धकार पारेर जनतामा भ्रम छर्ने तथा राजनीतिक घटनालाई व्यक्तिगत भन्दै आफ्नो अराजक क्रियाकलापको बचाउ गर्नेहरुलाई दिउँसै मैनबत्ती बालेर उज्यालो देखाएको काङ्ग्रेसको भनाइ छ । नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनु भएका बाँके सभापति कोइरालालगायत काङ्ग्रेस कार्यकर्तामाथि नेकपा समर्थितहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाच्चिएको छ । यता घटना बारे प्रतिक्रिया जनाउँदै नेकपा बाँकेका अध्यक्ष एवं प्रदेश नं ५ का सांसद आइ।पी। खरेलले भन्नुभयो, “काङ्ग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासी जन्माएको यो दुःखद् घटना मात्र हो । यसलाई अतिरञ्जित बनाइनुहुँदैन ।” काङ्ग्रेसले घटनामा संलग्न भनि १० जनाको नामसहितको जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अहिलेसम्म तीन जनालाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।
Categorized in राष्ट्रिय