relans
ni new 83
nib 2082 5

आज दसैंको छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ६, बिहिबार

काठमाडौं - नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व बडा दसैंको छैटौं दिन बिहीबार नवदुर्गाका नौवटा रूपमध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनी’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्।

यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जलशेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ।

पौराणिक मान्यताअनुसार ‘कत’ नामका महर्षिका पुत्र कात्य भए र तिनै कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन जन्मिए। कात्यायनले घोर तपस्या गरी जन्माएकी पुत्री कात्यायनी देवीका नामले प्रसिद्ध भइन्। महिषासुर वध गरेकाले उनी ‘महिषासुरमर्दिनी’ नामले पनि चिनिन्छिन्। मस्तकमा अर्धचन्द्र धारण गरेकी, नाना प्रकारका अलंकार या आभूषणबाट सुशोभित भएकी, चार हात भएकी, दाहिने हातमा वर तथा अभय मुद्रा प्रदर्शित गरिरहेकी तथा देबे्र हातमा पद्म, पुष्प तथा तरबार धारण गरेकी स्वरूपमा कात्यायनी देवीलाई मानिन्छ।

भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले कात्यायनी देवीको आराधना गरेका थिए। तसर्थ उनको कृपाले अविवाहिताको यथाशीघ्र विवाह हुने धार्मिक मान्यता रहेको छ।

भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए। कात्यायनी देवीको पूजापाठको प्रभावलेअविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ। त्यस्तै, शास्त्रमा उमा, गौरी, काली, हेमावती वा ईश्वरीका नामले पनि उनका अनेकौं नाम उल्लेख गरिएको छ। उनमा काली र चण्डिका पनि निहित रहेको यजुर्वेदको तैत्तिरीय आरण्यकमा बताइएको छ। स्कन्द पुराणमा उल्लेख भएअनुसार उनी परमेश्वरको नैसर्गिक क्रोधबाट उत्पन्न भएकी थिइन्, जसले देवी पार्वतीले दिएको सिंहमा चढेर महिषासुरको वध गरेकी थिइन्।

कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।

उनको पूजाआराधनासँगै यस दिन पनि विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ। शक्तिपीठको दर्शन, पूजाआराधना र चण्डीपाठ गर्नाले आदिशक्ति दुर्गाबाट व्यावहारिक जीवनमा आत्मिक शक्ति बढ्नुका साथै सम्पूर्ण मनोकांक्षा रहेको शास्त्रमा उल्लेख छ।

विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ। यस वर्ष काेराेना महामारीका कारण सरकारले शक्तिपीठहरू नखाेल्न भनेपनि अधिकांश स्थानमा भक्तजनकाे भिड लाग्ने गरेकाे छ ।

Categorized in राष्ट्रिय
ppp 2