STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज भगवान् गणेशको जन्म दिन, चथाः पर्व मनाउँदै नेवार समुदाय

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १५, बुधबार

 काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो ।

यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

चथाः पर्व मनाउँदै नेवार समुदाय

मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ ।

तिथिको घटबढका कारण चथा पर्व मङ्गलबार नै रहेको समितिले स्वीकृति दिएका पञ्चाङ्गमा उल्लेख गरिएको छ ।

यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ ।

बेलुका चन्द्रमा पुजाआजा गरी सानो भोज पनि खाने चलन छ ।

आजको दिन चन्द्रमालाई हेरेमा चाेरको आरोप आउने धार्मिक विश्वास पनि रहेको छ । गणेशले आफ्नो अपमान गरेपछि चन्द्रमालाई श्राप दिइएको किम्बदन्ती रहेको छ । चन्द्रमालाई हेर्ने जाेकाेहीलाई आजकाे दिन चाेरीको आरोप लाग्ने गणेशको श्रापकाे कारण आज चन्द्रमाको पुजा गर्दा चन्द्रमालाई नहेरी गर्ने चलन रहेको छ ।

Categorized in राष्ट्रिय