STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज रातो मच्छिन्द्रनाथको महास्नान गरिँदै

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २४, शुक्रबार

काठमाडौं - ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान गरिँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ ।

दिउँसो ४ बजेपछि मच्छिन्द्रनाथलाई लगनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा राखेको पुजारी विनोद बज्राचार्यले बताए ।

बज्राचार्यका अनुसार महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो अष्टमीका दिन मर्मत सम्भार गरेर रंगरोगन गरिनेछ ।

यसपालि रातो मच्छिन्द्रनाथलाई २०८० बैशाख ८ गते रथारोहण गरेर ११ गतेदेखि रथयात्रा शुरु हुनेछ । रातो मच्छिन्द्रनाथको महास्नानसँगै आज बेलुकी रथ बनाउनको लागि साइत पूजा हुँदैछ ।

महास्नान गरेपछि बेलुकी साइत पुजा गरिने बाराही नाइके दिल कुमार बाराहीले बताए । आज साइत पुजा गरेर शनिबार पुल्चोकमा रथ बनाउन शुरु हुने बाराहीले जानकारी दिए ।

यस्तै, दोलखाको मच्छिन्द्रनाथको मूर्तिलाई आज रथारोहण गरिँदैछ । हरेक वर्ष दोलखाको मच्छिन्द्रनाथलाई चैत शुक्ल पूर्णिमाका दिन महास्नान गरेर प्रतिपदाका दिन रथारोहण गरिन्छ ।

मच्छिन्द्रनाथको मूर्तिलाई पिगला टोलमा बनाएको रथमा रथारोहण गरेर भोलिदेखि दोलखामा मच्छिन्द्रनाथको रथयात्रा शुरु हुनेछ ।

उकालो, ओरालो, सिंढीमा पनि तानिनुपर्ने भएकोले दोलखाको रातो मच्छिन्द्रनाथको रथमा विशेष खालको पाँग्रा राखिएको हुन्छ । जात्राको क्रममा मुख्य आकर्षण टसिचा टोलबाट थापन बुद्धस्तुपासम्मको रथयात्रालाई मानिन्छ ।

यो रथयात्राको क्रममा ६० डिग्रीको उकालो तान्नु पर्ने भएकोले रथयात्राको क्रममा यसलाई विशेष दिनको रुपमा मानिएको हो ।

यसवर्ष आउँदो २८ गतेका दिन रथलाई टसिचा टोलबाट थापन बुद्धस्तुपासम्म तानिनेछ । बैशाख १ गते पिगला टोलबाट डोकलुगटोलमा मूर्तिलाई भित्र्याएसँगै जात्रा सकिनेछ ।

बिहीबार पिगला टोलमा मच्छिन्द्रनाथलाई दुधमा डुबाएर महास्नान गरिएसँगै जात्रा शुरु भएको होे ।

Categorized in उपत्यका