आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय बन्यो त्रिपुरेश्वर चोकमा
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ माघ २८, शुक्रबार
कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा काठमाडौँ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार विहान उक्त शौचालयको उद्घाटन गर्नु भयो । बढी भिडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेको कुरा मेयर शाक्यले जानकारी बताउनु भयो ।
उक्त शौचालय मात्रै होइन महानगरपालिकाले निर्माण गर्ने हरेक शौचालय दृष्टिविहिन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी निर्माण गर्ने योजना रहेको कुरा मेयर शाक्यले बताउनुभयो । उहाँले अब निर्माण हुने शौचालय स्यानिटरी प्याड, प्रयाप्त पानी, बिजुली बत्तीको समेत व्यवस्थासहितका हुने जानकारी पनि दिनुभयो ।
उहाँले वातावरणीय र जनवास्थ्यको पक्षलाई समेत ध्यानमा राखेर महानगरपालिकाले सबै वडामा यस्ता शौचालय निर्माण गर्दै जाने नीति लिएको जानकारी दिनुभयो ।
मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुसार नै यस अघि चक्रपथ सडक खण्डको स्वयम्भू बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले केही महिना अघि नयाँ बानेश्वर छक्कुपक्कु पार्कमा पनि आधुनिक शौचालय निर्माण भएको र हाल सञ्चालमा रहेको बताउनुभयो ।
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता शौचालय ३२ वटै वडामा निर्माण गर्ने योजना रहेको बताउनुभयो । काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालयको व्यवस्थापन गर्ने योजना अनुसार त्रिपुरेश्वरमा आधुनिक शौचालयको उद्घाटन गरेको जानकारी दिनुभयो ।
उहाँले शौचालयमा आकाशे पानी संकलन गर्ने १५ हजार लिटरको भण्डारण क्षमता , शौचालयबाट आउने दिशाजन्य लेदोलाई बायोडाइजेस्टरमार्फत ग्याँस निकाल्ने जस्तो प्रविधिको समेत प्रयोग गरेकाले पनि यो शौचालय आधुनिक भन्न सकिने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा–११ का अध्यक्ष हिरालाल तण्डुकारले अन्य स्थानमा पनि यस्ता शौचालय निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले पनि अत्याधुनिक सेवा दिने उदेश्यले आधुनिक शौचालय निर्माणको अभियान अन्तर्रगत यो शौचालय निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो शौचालय ५ सय स्क्वायर फिटमा निर्माण भएको छ । यसको लम्बाई २८ फिट र चौडाई १२ फिट छ । उहाँले शौचालय निर्माण गर्नु मात्रै ठूलो नभएको भन्दै व्यवस्थापनको पनि पाटो महत्वपूर्ण हुने भएकाले शौचालय निर्माणसँगै केहीलाई रोजगारीको अवसर पनि प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले करीब ३५ लाखको लगानीमा यो शौचालय निर्माण भएको जानकारी दिनुभयो ।
महानगरपालिकाले गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानमा पनि आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने योजना राखेको कुरा पनि जानकारी गराएको छ ।
Categorized in उपत्यका

