आन्दोलनका नाममा हुने लुटपाट अस्वीकार्य • आज वार्तामा बस्ने जेनजीको घोषणा
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २५, बुधबार
काठमाडौँ - भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध उर्लिएको जेनजी आन्दोलनका कार्यक्रम संयोजकले नेपाल निर्माणको उद्देश्य नजिक पुगेको दाबी गर्दै आफ्नो आन्दोलनका क्रममा केही तत्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण गराएको छ।
साथै आज बुधबार सम्बन्धित पक्षहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने जानकारी पनि दिएका छन् । केहीबेर अघि जारी गरिएको एक विज्ञप्तिअनुसार जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ,'हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ।'
जेनजी ले आफ्नो स्पष्ट नीति रहेको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु र लुटपाट गर्नु आफ्नो आन्दोलनको हिस्सा कहिल्यै नहुने जनाएको छ । कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जेनजीका साथीहरू तथा आम राष्ट्रवादी साथीहरूलाई यस्ता कार्यहरू आफ्नो आन्दोलनसँग सम्बन्धित नभएको भन्दै सचेत रहन अनुरोध गरेका छन्।
उनले आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक बाटोबाटै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। जेनजीका अनुसार आन्दोलनमा सहभागी धेरै साथीहरू अहिले घर फर्किसकेका छन्।
यसैबिच केहीबेर अघि नेपाली सेनाले पनि सम्बन्धित पक्षलाई वार्तामा आउन आग्रह गरिसकेको छ । सेनाको यस्तो भनाइपछि जेनजीको प्रतिक्रियास्वरूप यस्तो विज्ञप्ति आएको हो ।
Categorized in राष्ट्रिय

