STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनमा राजनीति गर्नु नाजायज भएको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ३, शुक्रबार

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजको  आयोजनामा बिहीबार तमु बौद्ध सेवा समितिको सभाहलमा  पत्रकारहरूका विभिन्न संघसंगठनका प्रतिनिधिहरूलाई समेटेर कार्यक्रम गरेकाे छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेल, फाेनिजका अध्यक्ष गजुरधन राई, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, मधेशी पत्रकार समाजका माेहन सिंह लगायतको सहभागिता रहेको थियाे ।

कार्यक्रम मार्फत सरकारले नीति तथा कार्यक्रममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनमा कुनै अमुक व्यक्तिको नाउँ उल्लेख नगर्न ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानमा सन्त नेता कृष्णप्रसाद भट्टराईकाे नाउँ जाेडेर मरणाेपरान्त विवादीत गर्न नहुनेमा पत्रकारहरू सहमत भएका छन् ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्यले सन्त नेता कृष्णप्रसाद भट्टराईकाे प्रधानमन्त्रीत्व कालदेखि पत्रकार महासंघका संस्थापक अध्यक्षमा राजनीति सुरू भएकाे बताए ।  बज्राचार्यले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान दुबैजना जीवितै हुँदा ल्याउन नसकेकाे र अहिले मरणोपरान्त इतिहासलाई माेडेर सत्यनारायण बहादुर श्रेष्ठकाे याेगदानलाई अन्याय हुनेगरी सन्त नेता कृष्णप्रसाद भट्टराईकाे नाममा प्रतिष्ठान गठन गर्न खाेज्नु गलत भएको बताए । उनले नियाेजित रूपमा नाउँमा राजनीति शुरू भएकाे हुनाले देशभरका नेवारहरूकाे साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले केहीवर्ष यतादेखि नेपाल पत्रकार संघ (पछि पुनर्गठन गरि बनाएकाे नेपाल पत्रकार महासंघ)का संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठकाे जन्मजयन्ती मनाउने कामकाे थालनी गरेकाे जनाए ।

साेही क्रममा १०५ औं जन्मजयन्तीमा सञ्चार मन्त्री पार्वत गुरुङ अतिथिकाे रूपमा उपस्थिति रहेको  थियाे भने १०६ औं जन्मजयन्ती सञ्चार ग्रामस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा अायोजना महासंघकै सहयाेगमा गरिएको थियाे । तर पछिल्लो समय जिम्मेवार निकायका पदाधिकारीहरूले श्रेष्ठकाे पत्रकार सम्बन्धिकाे संगठन निर्माणमा रहेकाे याेगदान बिर्सिएर गैरजिम्मेवारी प्रतिक्रिया दिइरहेका छन् भने  यस्तै अवस्था रहे तथ्यपरक इतिहासलाई स्वीकार गर्ने र प्रतिष्ठानमा राजनीति गर्न नहुने पक्षका देशभरका पत्रकारहरू विरोधमा उत्रने समेत उहाँले चेतावनी दिए ।

कार्यक्रममा पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले केहीवर्ष अघि पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टकाे कार्यकालमा २००८ सालमै पत्रकारहरूलाई संगठित गरेका सत्यनारायण बहादुर श्रेष्ठकाे याेगदानसहितकाे ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएकाे स्मरण गरे । महासंघका सभापतिहरूकाे पनि याे विषयमा फरक मत नरहेपनि श्रेष्ठकाे याेगदानलाई बिर्सेर प्रतिष्ठान गठनमा राजनीति हुने गरेकाे महर्जनको तर्क छ । यदि नेपाल पत्रकार महासंघकाे विधानमा त्रुटी हाे भने तथ्यसंगत इतिहास स्थापित गराउनकाे लागि विधान संशोधन गर्नुपर्नेमा जाेड दिए । अहिलेकाे अवस्थामा महासंघका अध्यक्ष विपुल  पोखरेलले सत्यतथ्य अध्ययन गर्ने आश्वासन दिनुभएकाे हुनाले महासंघले कुनै निश्चित राजनीतिक पक्षपाेषणलाई भन्दा नि सत्यमा आधारित हुनेमा विश्वस्त रहेकाे महर्जनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममार्फत सत्यनारायण बहादुर श्रेष्ठकाे योगदानलाई कदर गर्दै सम्बन्धित क्षेत्रमा आवश्यकता बमाेजिम प्रस्तुत हुने निष्कर्ष निकालेको छ ।

Categorized in राष्ट्रिय