STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इच्छाकामनामा शीतभण्डार निर्माण गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार

चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिने भएको छ । साना किसान सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारमा शीतभण्डार निर्माण गरिने भएको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरिएको हो । तराई–मधेश समृद्धि कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिने साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नरबहादुर नेपालले जानकारी दिनुभयो । उहाँले गाउँपालिकासँग सम्झौता भई निर्माण कार्यका लागि प्रक्रिया अघि बढेको बताउनुभयो । नेपालले भन्नुभयो, “गाउँपालिकासँग सम्झौता भई निर्माण कार्यका लागि प्रक्रिया अघि बढिसकेको छ, अबको डेढ महीनाभित्र शीतभण्डार निर्माण सम्पन्न गरिनेछ ।” स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी समयमै बिक्री नहुँदा सड्ने तथा बिग्रने भएको हुँदा किसानको मागलाई लक्षित गर्दै शीतभण्डारको स्थापना गरिएको उहाँको भनाइ छ । गाउँपालिकामै पहिलोपटक शीतभण्डार निर्माण हुन लागेको हो । शीतभण्डार निर्माण हुने भएपछि कृषक खुशी भएका छन् । तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा अगुवा कृषक हरिबहादुर नेपालले शीतभण्डार निर्माणपछि किसानलाई राहत मिल्ने बताउनुभयो । चितवनको पहाडी भेग रहेको इच्छाकामना तरकारी उत्पादनका लागि उर्वरभूमि मानिन्छ । यहाँको तरकारी काठमाडौँ, नारायणगढ तथा पोखरालगायत शहरमा पनि जाने गर्दछ ।
Categorized in राष्ट्रिय