इन्टेलिजेन्ट ट्राफिक बत्ती उद्घाटन
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ९, बिहिबार
पाटन दरबार क्षेत्रसंगैको महापाल चोकमा ट्राफिक जामले सधै हैरानी । अझ बिहान र साँझको ‘पिकआवर’मा त ट्राफिक जामले सवारी चालक मात्र नभई सर्वसाधारणलाई हिडेर जान समेत सास्ती हुने गर्दथ्यो । यस्तो अवस्थामा ललितपुर महानगरपालिका–१६ वडाले तन्त्र भेन्चर्स प्रा।लिको सहयोगमा पाटन दरबार क्षेत्र नजिकैको महापाल चोकमा दुई वटा अत्याधुनिक इन्टेलिजेन्ट ट्राफिक बत्ती जडान गरेको छ । करिब १७ लाखको लागतमा बनाइएको सो लाईट बुधबार प्रयोगमा ल्याइएको छ । अनलाईन, मोबाईल एप तथा रिमोट कन्ट्रोलबाट सो लाईट सञ्चालन गर्न सकिने छ ।महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख राजेश सिलवाल, पूर्व ट्राफिक सिताराम हाछेंथु, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक चन्चला श्रेष्ठको उपस्थितिमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले मोबाईलबाट एप्सको बटन थिचेर ट्राफिक बत्ती बुधबार उद्घाटन गर्नुभयो ।
सो अवसरमा वडाअध्यक्ष शाक्यले सो बत्ती जडानबाट विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा जान आउन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । ‘ट्राफिक जामको गुनासो सधै आउने गरेको छ । ट्राफिक बत्ती राख्नुपर्ने कुरा धेरै पटक चलेको पनि हो । अहिले आएर बल्ल ट्राफिक लाईटको व्यवस्था मिलाउन सकेँ ।’ अध्यक्ष शाक्यले भन्नुभयो । सो लाईट एक साताको परीक्षणपछि नियमित रुपमा सञ्चालन हुने पनि वडाले जनाएको छ । सार्वजनिक – निजी साझेदारीको अवधारणा अनुरुप राखिएको लाईटको सञ्चालन रेखदेख र अनुगमन पाँच वर्ष सम्म प्रा।लि नै गर्ने बताइएको छ । सो लाईट इन्टेलिजेन्सयुक्त भएको उल्लेख गर्दै प्रा।लि।का प्रदीप श्रेष्ठले सो लाईट बाटोको सवारीलाई ध्यानमा राखेर स्वचालित रुपमा सञ्चालन हुने जानकारी दिनुभयो । ११ जना ईन्जिनियरले सो लाईट बनाएका हुन् । श्रेष्ठका अनुसार सो सिस्टम कम्प्युटर भिजन प्रविधि तथा रेड लाईट भोईलेसन, नोटिफिकेसन, भेइकल काउन्टिङ्ग तथा क्लासिफिकेसन, भेइकल डेनसिटीका साथै क्लाउड कम्प्युटिङ्गको विशेषता रहेको छ ।
सो अवसरमा प्रदेश नं ३ का सांसद् ज्ञानेन्द्र शाक्यले लाईट जडानबाट पाटन दरबार क्षेत्रको सवारी व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । ‘बाटो साँघुरो भएको चोकमा ट्राफिक लाईट जडान गरिएको छ । लेन अनुशासन पनि पालना गर्र्न र गराउन सकियो भने मात्र ट्राफिक जाममा कमी आउने छ ।’ मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानुराज श्रेष्ठले भन्नुभयो ।
Categorized in राष्ट्रिय