STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इस्लाम धर्मावलम्बीहरूको रमजान आजदेखि

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २९, मंगलबार

काठमाडौं- इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन्।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।   

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ। उर्दू पात्रोअनुसार हिजरी सम्वतको रमजान नवौँ महिना हो। रमजानमै इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ। दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो।  

रमजान व्रत बस्न आज साँझ इस्लाम धर्मावलम्बीहरूले चन्द्रमा हेर्ने प्रचलन छ। शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा इस्लाम धर्मावलम्बीहरू रोजा बस्नुलाई गर्व गर्दछन्। नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन।

Categorized in राष्ट्रिय