ईन्द्रजात्रा स्थगित, क्षमा पूजा थालियाे
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार
काठमाडाैं – कोराेना जाेखिम बढेसँगै सरकारले निषेधाज्ञा लागु गरेपछि यसकाे प्रत्यक्ष असर काठमाडाैंकाे ठूलाे जात्रा ईन्द्रजात्रामा परेकाे छ ।
निषेधाज्ञाका कारण यस वर्ष कुमारी भैरव र गणेशकाे रथयात्रा नहुने भएकाे छ । रथयात्रा नहुने भएपछि जात्रासँग सम्बन्धित कुमारी गणेश भैरव लाखे सवःभक्कु व देव खलकहरुले विधिपूर्वक क्षमा पूजा गरेकाे छ ।
यसैक्रममा ईन्द्रजात्रा अवधिभर निकालिने किलागलकाे पुलुकिसिकाे पनि क्षमा पूजा गरिएकाे छ । किलाघः टाेलका अध्यक्ष वंशीकृष्ण श्रेष्ठकाे उपस्थितिमा क्षमा पूजा गरिएकाे हो ।
यसैगरी निषेधाज्ञाकै कारण यस वर्ष इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएन । इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले ध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको गुठी संस्थानले जनाएकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो उठाउन भाद्र शुक्ल द्वादशी अर्थात् आइतबार बिहान ७ः०७ बजेको साइत दिएको थियो ।
भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुने परम्परा छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइने परम्परा छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ ।
आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । कोरोनाका कारण यी विधि नहुने भएपछि जात्राको मुख्य दिन भदौ १६ गते पनि क्षमा पूजा गर्ने तयारी गरिएको संस्थानले जनाएको छ ।
निषेधाज्ञाबीच उपाकू
भाद्र शुक्ल द्वादशीकाे दिन उपाकू जाने भनेर नेवार समुदायले दिवंगतकाे नाममा बाटाेमा पाला बत्ती राखी जाने चलन छ । तर निषेधाज्ञाबीच हिजाे थाेरैमात्रले उपाकू विधि सम्पन्न गरे ।
पितृकाे नाममा गरिने संस्कार भएकाेले निषेधाज्ञाबीच नै उपाकू गएकाे पाइएकाे छ ।
"याे कुनै रमाइलाे र उत्सवकाे कार्य हाेइन । पितृकाे नाममा गरिने संस्कार भएकाेले यसलाई निषेधाज्ञा बीच पनि सुरु गरेका हाैं," उपाकू गइरहेका एक वृद्धाले भनिन् ।
उपाकू जानेहरु पुरानाे काठमाडाैंकाे सिमाना घुम्ने गर्दछन् । ती सिमानाहरु अहिले काठमाडाैंकाे भित्री सहरमै पर्न आउँछ ।
Categorized in उपत्यका
Categorized in उपत्यका


