STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उच्च ज्वरोबाट ६ जनाकाे मृत्युपछि अनुसन्धान टोली परिचालन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १४, आइतबार

कञ्चनपुर– कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताउनुभयो । “महामारीको सङ्केत छैन”, उहाँले भन्नुभयो, “रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।” उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ । निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।
Categorized in राष्ट्रिय