STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उज्यालो भक्तपुर अभियानको शुभारम्भ

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार

भक्तपुरलाई दीपावलीझैँ सधँै उज्यालो बनाउने उद्घोष गर्दै आउनुभएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गर्नुभएको छ । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उहाँले अभियानको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको शुरुआत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महीनासम्म लाग्नुभएका युवाहरुले स्वयंसेवीरूपमा बत्ती जडानकार्यमा सहयोग पु¥याएकामा धन्यवाद भन्न चाहन्छु ।” भक्तपुरको गुण्डु ‘मर्निङवाक’ गर्नेमात्र नभई अबका दिनमा ‘इभिनिङवाक’ गर्ने ठाउँको रूपमा पनि परिचित हुनेछ भन्दै उहाँले भक्तपुरको कामबाट प्रभावित भई सहयोगी दाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौँतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने होइन, विकासले भक्तपुर खोज्दै आउन थालेको छ, अब भक्तपुरले विकासमा तीव्ररुपमा फड्को मार्नेछ ।” भक्तपुरलाई हरित शहरको रूपमा विकास गर्ने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान शुरु भई विरुवा रोपेको बताउँदै उहाँले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरि विस्तार गर्ने भनाइ राख्नुभयो । कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट शुरु भएको बताउनुभयो । चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको रु २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको सापकोटाले बताउनुभयो । उहाँले बत्तीजडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियानसमेत अगाडि बढाइने बताउनुभयोे ।
Categorized in राष्ट्रिय