उन्नत जातको धानको बीउ वितरण
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार
रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । रामपुर नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।
किसानको निवेदन मागको आधारमा आधुनिक कृषिखेती कार्यक्रम अन्तर्गत एक कृषि सहकारी, आठ किसान समूह, ८१ जना किसानलाई धानको बीउ वितरण गरिएको हो ।
शाखाले धान उत्पादन वृद्धि गराउने उद्देश्यले चार हजार ९०० केजी सावित्री, आठ सय ७५ केजी रामधान र आठ सय ७५ केजी सावा मन्सुली जातको उन्नत बीउ वितरण गरेको शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले धानको बीउ वितरण गर्दै उत्पादनशील जमीन रहेको रामपुर क्षेत्रमा प्रशस्त उन्नत जातका धान उत्पादन गरेर बिक्री गरी आम्दानी बढाउन आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले भन्नुभयो, “धान उत्पादनको पकेटक्षेत्र रहे पनि बाहिरबाट धान, चामल रामपुर बजारमा भित्रिरहेको अवस्थामा अब उन्नत जातका धान लगाएर यहीको उत्पादनले बजार ढाक्नुपर्नेछ ।”
अनुदानमा धानको बीउ पाएपछि यहाँका किसान खुशी भएका छन् । नगरपालिका–१ बस्ने शेरबहादुर खड्काले यसभन्दा अघि स्थानीय जातको धान लगाउँदै आएकोमा उत्पादन वृद्धि गर्न अब उन्नत जातको धान लगाउने तयारी गर्नुभएको छ ।
बीउ भण्डारणको असुविधा रहेकाले धानको बीउ अनुदानमा पाएपछि खेती गर्न सजिलो परेको किसान विनोद श्रेष्ठ बताउनुहुन्छ । पाल्पाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान रामपुर बजारमा मात्र नभइ जिल्लामा ठूलो परिमाणमा भित्रिने गरेको छ । खेतीयोग्य जमीन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन् ।
खेती गरिएको जमीनमा भने धानको उत्पादन बढ्दो मात्रामा रहेको छ । पछिल्लो समय किसानले स्थानीय जात छाडेर उन्नत जाततर्फ आकर्षित हुँदा खेती लगाइएका जमीनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन् ।
Categorized in राष्ट्रिय


