उपत्यकाका ६२ जनासहित थप २५९ जनामा संक्रमण • कुल संक्रमितको २१ हजार नाघ्याे
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २०, मंगलबार
काठमाडाैं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनासहित नेपालमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रिय संक्रमितको संख्या पाँच पाँच हजार ९२५ रहेको छ। सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन्।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, महोत्तरी र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने चार पुगेको छ। प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।
मन्त्रालयले साउन १० देखि १३ गतेसम्म काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङबाट स्वाब संकलन गरेको थियो। तीन दिनमा १० हजार ८२७ नमुनाको पीसीआर परीक्षणमा ४० जनाको रिपोर्ट पोजिटिभ आएको छ।
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुगेको छ।
Categorized in राष्ट्रिय