STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको लम्बाइ २२५ मिटर रहेको छ । यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करीब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ । पुल निर्माणपछि कैलाशनाथ महादेवको मन्दिरमा आउने भक्तजनलाई सहज हुनेछ । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उक्त झोलुङ्गे पुलको आज शिलान्यास गर्दै भक्तपुरमा अब धमाधम राष्ट्रिय गौरवका आयोजना निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको तीन वर्षमा भक्तपुरको मुहार फेरिने छ, भक्तपुरको विकास तीव्रगतिमा अगाडि बढेको छ, साना योजनाका विकास मात्रै होइन, अब राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम निर्माण हुनेछन् ।” उहाँले भक्तपुरमा प्राणी उद्यान, आधुनिक वीर अस्पताल, अन्तर्राष्ट्रिय रङ्गशाला, आधुनिक सभागृह, चार हजार क्षमताको कभर्डहल, स्मार्ट सिटी, सडक, खानेपानी, ढललगायतका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रियामा रहेको बताउँदै यी आयोजनाले भक्तपुरको मुहार फेर्ने बताउनुभयो । देशकै पर्यटकीय क्षेत्रको रुपमा भक्तपुरले आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताउँदै सांसद बस्नेतले भक्तपुर उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सिलसिलामा निर्माणाधीन झोलुङ्गे पुल मितेरी पुलका रुपमा रहने पर्यटकको आगमन बढ्ने बताउनुभयो । यस क्षेत्रमा मानवनिर्मित ताल बनाउने, साँगादेखि फुलचोकीसम्म पदमार्ग निर्माण गर्ने, काँक्राबारीलाई ‘अग्र्यानिक इको भिलेज’को रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको उहाँको भनाइ छ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुुदेव थापाले सूर्यविनायकका सबै वडाहरु जोड्ने गरी शिव परिपथ बनाउने घोषणा गर्नुभयो । त्यसअवसरमा वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्रराज केसी र वडा नं १० का वडाध्यक्ष शिवराम थापाले सूर्यविनायकको विकासमा सबै वडाहरु सक्रिय रहेको चर्चा गर्नुभयो ।
Categorized in राष्ट्रिय