उपत्यकामा प्रवेश निषेध, अत्यावश्यक नपरी बाहिर निस्किए पक्राउ गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार
काठमाडौं – कोरोना भाइरसको संक्रमण बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेका छन् ।
अब सवारी पासबाहेक कुनै पनि सवारी साधनका साथै पैदल यात्रुलाई पनि काठमाडाैंमा प्रवेश निषेध गरिएको छ ।
प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।
शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले एक सुचना प्रकाशित गरी जनाएका छन् ।
यसका साथै, प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ ।
प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।
एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।
Categorized in राष्ट्रिय