उपत्यकामा ५१ जनासहित थप ४१८ जनामा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १९, सोमबार
काठमाडौं – उपत्यकामा ५१ जनासहित पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ ९१६ जना निको भएका छन् ।
देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।
झापा र सुनसरीमा ५/५ जना, बारा र अछाममा ४/४ जना, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २/२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल
यसैगरीजनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।
सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए । भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएकाे जनाइएकाे छ ।
Categorized in राष्ट्रिय