उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिए
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
काठमाडौं – काेराेना संक्रमित दिनानु बढ्ने क्रममा पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
भक्तपुरका ३ जना , काठमाडौंका ५६ जना, ललितपुरका ३ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।
पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३१३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन्।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।
मृत्यु हुनेकाे संख्या ७३
नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो ।
३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।
Categorized in राष्ट्रिय