STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपनिर्वाचन २०७६ ः त्रिपक्षीय भिडन्त

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी र टोल कमिटी गठन गरी चुनावी गतिविधिलाई अगाडि बढाएको स्थानीय कन्हैयाप्रसाद साहले बताउनुभयो । टोलटोलमा बिहानदेखि राति अबेरसम्म उम्मेदवारले मतदातालाई आफूतिर तान्न विभिन्न उम्मेदरवारले भेला, बैठक, छलफललगायतका कार्यक्रम गरिरहेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडा अध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात् सखुवाप्रसौनी गाउँपालिका–५ को वडाध्यक्षको उपनिर्वाचन हुन लागेको छ । सो उपनिर्वाचनमा आफ्नो पुरानो विरासत जोगाउन समाजवादी पार्टीले रुपलाल यादवलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ भने सतारुढ दल नेकपाले उदयशङ्करप्रसाद रौनियार, मुख्य प्रतिपक्षी दल नेपाली काङ्गे्रसले अशेस्वरप्रसाद यादव, राप्रपाले सदरी महरा रामलाई अघि सारेको छ भने गोपालप्रसाद कानून स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका छन् । केही दलबीच खासगरी नेकपा, नेपाली काङ्ग्रेस र समाजवादी पार्टीको उम्मेदवारबीचमा त्रिकोणात्मक तथा कडा प्रतिस्पर्धा हुने भएको स्थानीय जैकी रौनियारको भनाइ छ । सो गाउँपालिकामा समाजवादी पार्टीका अध्यक्ष प्रदीप जैसवाल रहेकाले पनि समाजवादी पार्टीका लागि यो चुनाव जित्न प्रतिष्ठाको विषय बनेको छ भने अर्कोतिर मृतक वडाध्यक्ष समाजवादी पार्टीकै भएकाले उहाँका लागि जीतलाई प्रतिष्ठाका रुपमा हेरिएको छ । उपनिर्वाचनमा हुने साम, दाम दण्ड र भेदमा उत्रिन सक्ने सम्भावना बढी रहेकाले पनि उम्मेदवारबीच हुने प्रतिस्पर्धा निर्वाचन आचारसंहिताविपरीत हुने सम्भावना बढी भएकाले यसप्रति निर्वाचन आयोग सचेत र सजग हुनुपर्ने स्थानीय नगिनाप्रसाद यादवको भनाइ छ । सङ्घर्षको मोर्चामा अब्बलरुपामा भूमिका निर्वाह गरेका महिलामध्ये कसैलाई पनि वडाको निर्वाचनमा दलले टिकट नदिनुलाई बिडम्बना भएको भन्दै समाजका अगुवाले भने निर्वाचनमा हुने महिला सहभागिता घट्दै गएकामा एउटै कारण हो दलको असहयोग । उम्मेदवार छनोट प्रक्रिया बाटै महिलाको कडा सङ्घर्ष शुरु हुने र टिकट पाए पनि निर्वाचन लड्न र जित्न महिलालाई अहिलेको परिप्रेक्ष्यमा चुनाव जित्न फलामको च्युरा चपाए जस्तो हुने ठम्याइ महुवनवासीको छ । नेपालको संविधानमा समानुपातिक प्रणालीबाट मात्रै ३३ प्रतिशत महिला राख्ने व्यवस्था भए पनि जबसम्म चुलोचौका र राज्यसंयन्त्रमा महिला र पुरुषबीचको उपस्थिति समान हुँदैन तबसम्म विभेद कायमै रहन्छ । हाल स्थानीय तहमा ४० प्रतिशत महिलाको उपस्थिति रहेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार गत निर्वाचनमा स्थानीय तहमा १४ हजार ३५३ महिला निर्वाचित भएका थिए । प्रदेशस्तरमा हेर्ने हो भने १८९ जना महिला प्रतिनिधि निर्वाचित भएको देखिन्छ । निर्वाचन आयोगले तोकेको औपचारिक रकमभन्दा धेरै रकम खर्च गर्नुपर्ने अवस्था रहेको र महिला उम्मेदवारले व्यापारी र ठेकेदार खोजेर चन्दा सङ्कलन गर्न सक्दैन र उनीहरुसँग मनी र मसल्स पनि नभएकाले महिला उम्मेदवार बन्न नसक्ने अवस्था अहिले पनि रहेको अर्का नेता केशवनाथ सुक्लाको भनाइ छ । महुवन, बलुवा र सोलकपुर गरी तीन वटा गाउँ सखुवाप्रसौनी–५ मा पर्ने गरेको र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्सिर १४ गते बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनका लागि मतदान केन्द्र १ र मतदानस्थल तीनवटा रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी प्रदेश २ कोे धनुषा जिल्लाबाहेक सात जिल्लामा एक नगरपालिकाको अध्यक्ष र नौ ठाउँमा वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता भएपछि मुख्य तीन दल नेकपा, नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
Categorized in राष्ट्रिय