STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १, बुधबार

काठमाडाैँ - नेपाली कांग्रेसले मौन अवधि सुरु भइसकेपछि उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार रहेका जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

उनले संघीय संसदका सदस्य एवं प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय भएको बताए । उनले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिमको प्रक्रिया पुर्याइ उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको बताए ।

प्रवक्ता महतले सरकारका जाने कुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार बिस्तार हुने बताए । त्यस्तै आजको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भूमिका खेल्ने सबै पक्ष र सांसदहरूलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपतिमा विजयी रामचन्द्र पौडेललाई सफल कार्यकालको शुभकामना दिएको छ ।

Categorized in राजनीति