STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याएको उहाँको भनाइ छ । “अधिकांश एकल महिलाको समाजमा बिजोग भएको स्थिति देखेको छु”, अध्यक्ष अधिकारीले भन्नुभयो, “वर्षमा पाँच हजार मात्रै हामीले दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ । एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरुलाई थप सहयोग गर्ने पनि हाम्रो नीति छ ।” अध्यक्ष अधिकारीका अनुसार एकल महिलाले फेरि विवाह गरेमा उनले उपचार खर्च पाउने छैनन् । सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । एकल महिला खुशी उपचार खर्च दिने गाउँपालिकाको नीतिले सुनकोशीका एकल महिला खुशी भएका छन् । गाउँघरमा एकल महिलालाई हेर्ने दृष्टिकोण राम्रो नभएको अवस्थामा स्थानीय सरकारको यो कदम स्वागतयोग्य रहेको बलखुकी ३२ वर्षीया अरुणा राईले बताउनुभयो । “भोट माग्न आउँदा तपाईंहरुका लागि पनि केही गर्छौैं, भन्थे नेताहरुले राम्रो कामको शुरुआत गरेकामा हामी खुसी छौँ”, राईले भन्नुभयो । सामान्य रोग लाग्दा पनि खर्च अभावका कारण घरैमा बस्नुपर्ने बाध्यता हट्ने उहाँको बुझाइ छ । एकल महिलाका क्षेत्रमा क्रियाशील स्थानीय अगुवा मुना श्रेष्ठले स्थानीय सरकारको यो नीतिले एकल महिलालाई समाजमा स्थापित गराउन मद्दत पुग्ने बताउनुभयो एकल महिलालाई उपचार खर्च दिने नीति लिएसँगै वडामार्फत एकल महिलाको तथ्याङ्क र अवस्थाका बारेमा विवरण सङ्कलनको काम थालिएको सुनकोशी गाउँपालिकाको कार्यालय मूलखर्कले जनाएको छ ।
Categorized in राष्ट्रिय