STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकल महिला आयआर्जन कार्यक्रम सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

नमोबुद्ध नगरपालिकास्थित एकल महिलालाई आयआर्जनका लागि तरकारी तथा फलफूल खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । नगरका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले आयआर्जन तालीममार्फत स्वावलम्बन बनाइने योजना बनाइएको हो । एकल महिलालाई तरकारी तथा फलफूलमा आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालयको सहयोगमा तालीमको आयोजना गरिएको नगरका उपप्रमुख एवं एकल महिला समूह काभ्रेपलाञ्चोकका अध्यक्ष रामदेवी तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी क्रमैसँग नगरका एकल महिलालाई चरणबद्ध तरकारी तथा फलफूल तालीम दिनेछौँ, यसले हरियाली नगर बनाउने उद्देश्यमा टेवा पुग्ने पनि अपेक्षा गरेका छौँ ।” उहाँले एकल महिलालाई विभिन्न स्रोतमार्फत आयआर्जनमा सहयोग गर्दै स्वरोजगार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पाँच दिने तालीममा बेमौसमी तथा मौसमी तरकारीखेती प्रविधि, नर्सरी स्थापना एवं व्यवस्थापन, लहरे तरकारी बाली, यिनका महत्व तथा मूल बीउ उत्पादनसम्बन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा माटो परीक्षण एवं सुधार तथा तरकारी र फलफूल खेतका लागि आवश्यक प्राङ्गारिक मल प्रयोगका बारेमा एकल महिला कृषकलाई जानकारी गराइएको एकल महिला समूह नमोबुद्ध नगर समितिका अध्यक्ष ललिता पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार हाल तालीममा नगरका ११ वटा वडाका ५५ जना एकल महिलालाई सहभागी गराइएको छ । वृद्धा एकल महिलाभन्दा युवा एकल महिलाको पीडा दर्दनाक भएको उल्लेख गर्दै आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य एवं पौष्टिक आहारका लागि आर्थिक उपार्जन आजको आवश्यकता भएकाले एकल महिलाका लागि आयआर्जन कार्यक्रम गर्नुपर्ने भएको पराजुलीले बताउनुभयो । “हाम्रा आवश्यकता अनगिन्ती छन्, अब ती आवश्यकता आफैँले पूर्ति गर्नुपर्नेछ”, उहाँको दुःखेसो थियो । नमोबुद्ध नगरमा एक हजार ३५ जना एकल महिला छन् । उनीहरुमा परम्परागत खेतीभन्दा आधुनिक एवं व्यावसायिक तरिकाले तरकारी तथा फलफूल खेतीका लागि बगैँचा स्थापना एवं व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको नगरका कृषि शाखाप्रमुख रेशम दाहालले बताउनुभयो । नमोबुद्ध नपा–५ कानपुरका प्रशिक्षार्थी विमला खनालले तालीममा व्यावसायिक तरकारी तथा फलफूल खेतीका लागि जैविक विषादी बनाउने विधि, रोग पहिचान, बालीअनुसार जैविक विषादी प्रयोग गर्ने मात्राबारे विस्तृक जानकारी पाइएको बताउनभयो । तालीममा स्थानीय तरकारी तथा फलफूलका लागि उपयुक्त हावापानीअनुसार प्रतिमहिला छ वटा फलफूलको बिरुवा वितरण गरिएको छ । नगरका कृषि संयोजक एवं ९ नम्बर वडाध्यक्ष मेलबहादुर तामाङले नगरका सबै बासिन्दाले अनिवार्य रुपमा व्यावसायिक कृषकबाहेक कम्तीमा पाँचवटा मात्रै भए पनि फलफूलका बिरुवा रोप्नुपर्ने नीति बनाइएको बताउनुभयो ।
Categorized in राष्ट्रिय