एकैदिन ११ सय ११ जनामा कोरोना संक्रमण, उपत्यकामामात्र ३७७ जना
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ११, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडाैं उपत्यकामा मात्र ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार २२४ जना र मंगलबार २३२ र बुधबार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ११ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ। २४ घण्टामा पर्सामा तीन र बुटवल र ललितपुरमा दुई/दुई, बाँके र पोखरामा एक/एक जनाको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ४७ हजार ८८१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।
Categorized in राष्ट्रिय