एकैदिन ३३४ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुने १० पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार
काठमाडौं - बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० पुगेको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार बुधबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ ।
बुधबार पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधिबाट पाँच हजार एक सय ८५ जनाको नमुना परीक्षण गरिएको छ ।
बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८ जना, प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालामा परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा तीन, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर बिहीबार मात्र तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन्।
कोरोनाले मृत्यु हुनेको संख्या १० पुग्यो
यसैगरी बुधबार थप एकजना कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
भारतबाट पाँचदिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन् । उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
Categorized in राष्ट्रिय