STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

'एक्लै लड्ने आँट नभएपछि गठबन्धन बन्यो'

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १३, आइतबार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे ।

शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न नसकेपछि मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गरे । उनले भने, ‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन् रे । एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ ।'

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोईटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याए । एक/दुईवटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उनले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष ओलीले भने, ‘अब चिन्ता गरेर बस्ने होईन । म कमरेडहरुलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा रुख ढल्दैन । एक/दुईटा पात पहेँलिएर झर्छन् । रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालि हाल्छ नि ।’

अध्यक्ष ओलीले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दाबी समेत गरे । उनले पार्टीमा फुट नआएको दाबी गर्दै भने, ‘नुहाउँदा एक, दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाएपनि, राम्रो, ब्रान्डेड साबुन लगाएपनि, छानेको पानीले नुहाएपनि, जेसुकै गरेपनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउँको मुडुलो हुन्छ ?’ 

Categorized in राजनीति