STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक मेगावाट क्षमताको विद्युत् शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–१ गडीगाउँस्थित एक मेगावाट क्षमताको जलविद्युत् शिलान्यास गरिएको छ । चुकेनी खोला विद्युत् सहकारी संस्थाअन्तर्गत निर्माण हुन लागेको ९९८ किलोवाट करीब एक मेगावाट को चुकेनी खोला साना जलविद्युत् आयोजना कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले दुर्गमका जनताका लागि उत्पादित विद्युत् कोसेढुङ्गा सावित हुने बताउनुभयो । “विद्युत् पूर्वाधारको सबैभन्दा महत्वपूर्ण आधार हो, यसले अब जुम्लालाई अँध्यारो युगबाट मुक्त गराउने छ”, उहाँले भन्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले शुरु गरेको नेपालकै पहिलो जलविद्युत् आयोजनाले यहाँका नागरिकको आर्थिक स्थितिमा अपेक्षित सुधार आउने उहाँको भनाइ थियो । तिलानदीमा खेर गइरहेको पानी यहाँको जनताको अथक प्रयास र लगानीले अब माग्ने नभई दिनेमा परिणत गरिदिएको उहाँको तर्क थियो । चुकेनी खोला विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले सरकारले मूल्य अभिवृद्धिमा छुट दिएकाले आयोजनाको लागत रु ४७ करोड पुगेको बताउनुभयो । “छ वर्षको निर्वाध प्रयासले उक्त विद्युत् आयोजनाको शिलान्यास गर्न सफल भइएको छ”, अध्यक्ष बुढाले भन्नुभयो, “अब एक वर्ष छ महीनामा यसलाई सम्पन्न गराइछाड्छौँ ।” अध्यक्ष बुढाका अनुसार सो आयोजना निर्माणका लागि एशियाली विकास बैंकको रु २८ करोड ४४ लाख ३० हजार लगानी छ । त्यस्तै, स्थानीयवासीको रु दुई करोड ६० लाख तथा गाउँपालिकाको रु ३० लाख शेयर लगानी, समितिको नाममा कृषि विकास बैंक जुम्लाबाट रु पाँच करोड ऋण, प्रदेश सरकारको रु एक करोड र दलित जनजातिलाई थप अनुदानवापत रु २८ लाख २८ हजार प्राप्त भएको छ । प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रहेको उहाँले बताउनुभयो । मूलतः यसरी निर्माण हुन थालेको जलविद्युत् कर्णालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाबाट पातारासी, गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका करीब ४९ हजार ३६८ जनसङ्ख्या लाभाविन्त हुने जनाइएको छ ।
Categorized in राष्ट्रिय