STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक वर्षमा सयको उद्धार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको एक वर्षमा एक सय भन्दा बढीको उद्धार गरेको जानकारी दिनुभयो । समाजले अशक्त, अनाथ, मानसिक सन्तुलन गुमाएका महिला र बालबालिका तथा ज्येष्ठ नागरिकलाई सडकबाट उद्धार गरी सामूहिक घरमा राख्ने र पालनपोषण गर्दै आएको एक वर्ष पुगेको छ । सो अवधिमा भक्तपुरसहित काठमाडौँ, ललितपुर र काभ्रेका गरी सयभन्दा बढीको सडकबाट उद्धार गरी ४० जनालाई परिवारसँग पुनःमिलन गराएको अध्यक्ष चौलागार्इंले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये १५ जना युवाको जीवन परिवर्तन गरी आत्मनिर्भर बनेर स्वेच्छाको जीवन बाँचेका र एक वर्षमा पाँच जनाले भने सेवा घरमै देहत्याग गरेको उहाँले जानकारी दिनुभयो । हाल समाजको सेवा घरमा ४० बालबालिका, महिला, अशक्त र अपाङ्गता रहेका छन् । जसमध्ये बालबालिका नौ, बोल्न नसक्ने चार, दुवै गोडा नभएको एक, दुवै आँखा नदेख्ने एक, पक्षघातका बिरामी दुई, सुस्तमनस्थिति भएका दुई, सामान्य अवस्थाका तीन र मनरोगी १९ जना रहेका छन् । बेवारिसे मानवमुक्त भक्तपुर बनाउने उद्देश्यसहित आफूहरुले अभियानकै रुपमा मानव उद्धार र सहयोग गर्दै आएको संस्थालाई सामाजिकभाव भएका व्यक्ति र संस्थाले सहयोग गर्दै आएको र कुनै पनि विदेशी सङ्घ संस्था र सरकारी सहयोगबिना नै स्वतस्फूर्त आउने दाताबाटै संस्था सञ्चालन भइरहेको छ । संस्थाले भाडाको घरमा पारिवारिक वातावरण सिर्जना गरी मानवसेवा गर्दै आएको छ । घरभाडामा मात्रै रु ४५ हजार मासिकखर्च भइरहेको, बालबालिका, महिला र ज्येष्ठ नागरिकको खाना, नाना, छाना, स्वास्थ्य, सुरक्षा र शिक्षाको लागि मासिक दुई लाख ५० हजार खर्च भइरहेको अध्यक्ष चौलागार्इंले बताउनुभयो । समाजले वैशाख १८ गतेदेखि सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । गैरसरकारी संस्था महासङ्घ भक्तपुरले यसवर्षको उत्कृष्ट संस्थाको रुपमा नगद रु १० हजारसहित पुरस्कृत गरेको यो समाजलाई सरकारले जग्गा उपलब्ध गराए सडक मानवमुक्त बनाउने अभियान पूर्ण रुपमा सफल पार्न सकिने चौलागार्इंको भनाइ थियो ।
Categorized in राष्ट्रिय