एमसीसीबारे छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक बस्दै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १०, बुधबार
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा एमसीसीबारे छलफल गर्न लागिएकाे हो ।
बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।
नेकपामा एमसीसीलाई संशोधन नगरी पारित गर्न नहुने मत बलियो छ । एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद बैठक बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ ।
त्यसैले बुधबारको नेकपा स्थायी कमिटी बैठक महत्वपूर्ण मानिएको छ । यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ । स्थायी कमिटीले सम्झौता अनुमोदन नगर्ने निर्णय गरेमा केपी ओलीको अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गर्न सक्दैन ।
Categorized in राजनीति