एमाले अध्यक्षका लागि ओली र रावलबीच भिडन्त
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १३, सोमबार
काठमाडाैं, १३ मंसिर - नेकपा एमालेको अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच भिडन्त हुने भएको हाे । उपाध्यक्षमा बस्न बन्दसत्रको हलबाटै ओलीले गरेको आग्रह रावलले अस्वीकार गरेका थिए । उनले अध्यक्षमा उम्मेदवारी दिन मनोनयन दर्ता फारम भरेका छन् । निर्वाचनको बाँकी प्रक्रिया आज सुरु हुँदैछ ।
ओलीलाई सर्वसम्मत रूपमा अध्यक्ष बन्न रोक्दै रावलले उम्मेदवारी दिने भएका हुन् । रावलले त्यसअघि नै बन्दसत्रमा अबेर गरेर धाँधली गर्न खोजिएको र गुट निर्माण गर्न खोजिएको आरोप लगाएका थिए । उनको उम्मेदवारीमा दाबीपछि हल नाराबाजीमा उत्रिएकाे थियाे ।
एमाले हाँक्नका लागि ओलीले १९ पदाधिकारी प्रस्ताव गर्ने क्रममा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् । यस्तै उपाध्यक्षहरूको सूचीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ अटाएका छन् । ओलीले महासचिवका लागि शंकर पोखरेललाई अघि सारेका छन् भने उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।
Categorized in राजनीति

