STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एयरपोर्ट धुलिखेलमा बन्छ ः मन्त्री बाँस्कोटा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार ब्याक भएको छैन ।” काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको उहाँले बताउनुभयो । “डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ ।” आन्तरिक विमानस्थलका लागि गत साल बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमीन निरीक्षण गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “आवश्यकताले पनि विकास निम्त्याउने हो, यसका लागि सरकार तयार छ ।” मन्त्री बाँस्कोटाले समयले कसैलाई नपर्खने भएकाले अवसरका बेला चुनौतीको सामना गर्दै कुनै पनि हालतमा उद्देश्य पूरा गरेरै छाड्ने जिकिर गर्नुभयो । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले नगर समृद्ध बनाउन व्यवसायी र स्थानीय तहबीच सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शुरकृष्ण वैद्यले सरकार औद्योगिक क्षेत्रमा सकारात्मक भएकामा खुशी व्यक्त गर्दै सरकार नवनिर्माणसँगै समृद्धिको बाटोतर्फ लम्किएकाले केही वर्षमै विकासको प्रतिफल देखिने बताउनुभयो ।
Categorized in राष्ट्रिय