STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने ः वरिष्ठ नेता खनाल

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २०, शुक्रबार

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।” वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्छ भन्नुभयो । वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीयस्वरुपअन्तर्गतका ऐन–कानून निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उहाँले सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेता खनाल आजदेखि भद्रपुर जेसिजको आतिथ्यमा भद्रपुरमा हुनलागेको नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटनका लागि झापा आउनुभएको हो ।
Categorized in राष्ट्रिय