STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली र माधव नेपालबीच औपचारिक भेटवार्ता हुँदै

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १४, बिहिबार

 

काठमाडौं।-पुष ११ गते शीतलनिवासको सपथ ग्रहणमा भेटघाट गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले औपचारिक भेटवार्ता गर्ने भएका छन् ।

भोलि (शुक्रबार) ओली र नेपालबीच भेटवार्ता हुने बताइएको छ । सरकारभन्दा बाहिर रहेका अध्यक्ष नेपाल र अध्यक्ष ओलीबीच अहिलेको सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री रहँदा संसद विघटन र नेकपा टुक्रिएपछि बिग्रिएको दुईजनाको सम्बन्ध यसअघि पनि पटक पटक सुधार्ने कोसिसहरु नभएका होइनन् । तर, मिल्ने सम्भावना सकिएपछि अध्यक्ष नेपाल एमालेबाट निस्केर अलग्गै दल दर्ता गरेका थिए ।

एमालेबाट निस्केपनि कांग्रेस–माओवादीसहितको गठबन्धनसित सत्ताको भरपुर सदुपयोग गरेको एकीकृत समाजवादी निर्वाचनमा राष्ट्रिय दल बन्नबाट बञ्चित हुनुपर्यो । राष्ट्रिय दल नबने पनि प्रतिनिधिसभा र प्रदेशसभामा उपस्थिति राख्यो ।

फेरि पनि पूरानै गठबन्धनको सरकार बन्ने मोड चलिरहँदा एकाएक नेपाली राजनीतिमा नयाँ घुम्ति आयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सकिएको भन्दै एमालेसहित साना दलको आँडमा आफू नेतृत्वको सरकार बनाए । त्यसपछि प्रचण्डसँग रुष्ट बनेका अध्यक्ष नेपाल र ओलीबीच राष्ट्रपति भवनमा भेटघाटसँग सामान्य हाइहेल्लो भयो ।

प्रधानमन्त्रीको सपथ खाएको भोलिपल्टै प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगे ओली । खुमलटारमा साढे दुई घण्टा बात मारेका ओली–प्रचण्ड नेपाललाई पनि जसरी पनि सरकारमा सामेल गराउने विषयमा पनि एकजुट भए ।

शत्रुजस्तै व्यवहार चलिरहेको ओलीसँग प्रचण्डले एकाएक कुम मिलाएपछि नेपाल यता न उता भए । तर, प्रचण्डको यो नयाँ रणनीति ओलीका लागि फाइदा बनेको छ । फेरी पनि चोइटिएको पार्टी एक ढिक्का बनाउन अवसर जुरेको छ । यद्यपि, अध्यक्ष नेपालले बिहीबार पार्टीको जुम मिटिङमा एमालेसँग एकता र राष्ट्रपति बन्ने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

Categorized in राजनीति