relans
ni new 83
nib 2082 5

कथाकार पुष्कर लोहनी लगायत तीन स्रस्टालाई मधुपर्क सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ ३०, मंगलबार

गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कको ५६औँ वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न गरेको छ । सो अवसरमा विख्यात यौनवादी कथाकार पुष्कर लोहनी लगायत तीन सर्जकलाई सम्मानित गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि बैरागी काइँलाले मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठलाई, मधुपर्क सम्मान २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई एवं मधुपर्क प्रतिभा सम्मान २०८० छन्द तथा बालकवि एवं समालोचक प्रभा भट्टराईलाई मधुपर्कको वार्षिकोत्सवका अवसरमा प्रदान गरिएको हो ।  

नेपाली साहित्यमा कविता विधामा विशेष योगदान दिनुहुने कृष्णभक्त श्रेष्ठ लामो समय पत्रकारिता क्षेत्रमा पनि संलग्न हुनुहुन्थ्यो । विसं २०१३ मा पहिलो कविता प्रकाशित भएपछि निरन्तर कविता विधामा सक्रिय ८५ वर्षीय श्रेष्ठका ‘कृष्णभक्त श्रेष्ठका कविता’, ‘मान्छेको कथा’, ‘रातको दस बजे’ ‘ठुलोमान्छे’ जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । श्रेष्ठ गोरखापत्र तथा  मधुपर्कका पूर्वप्रधान सम्पादक हुनुहुन्छ । 

विसं २०१६ मा पहिलो कथा प्रकाशित गरेर साहित्यमा देखा पर्नुभएका ८५ वर्षीय पुष्कर लोहनीका कौडी (कविता सङ्ग्रह), चहकदार मैइन्टोन र पिलपिले लालटिन (समालोचना), धरहराको टुप्पो (कथासङ्ग्रह), अदृश्य मान्छे (उपन्यास) लगायत हाइकु, ताङ्कासङ्ग्रह गरी करिब एक दर्जन कृति प्रकाशित छन् । 

विशेष गरी छन्द कविता र बालसाहित्यमा केन्द्रित ५७ वर्षीय प्रभा भट्टराईका पोसिला कविता, मेरो सानो भाइ (बालकवितासङ्ग्रह), सन्तु र सुधा (बालकथासङ्ग्रह), गीतापापा, सुनकेशरी मैया (बालकाव्यहरू), बालचित्र कथा सङ्ग्रहहरू, शारदा अधिकारी (जीवनी), सरित् सङ्गम (कवितासङ्ग्रह) लगायत करिब डेढ दर्जन कृति प्रकाशित छन् । 

प्रतिकूल स्वास्थ्यका कारण कवि श्रेष्ठ भने कार्यक्रममा उपस्थित हुनु भएन ।

प्रमुख अतिथि कवि काइँलाले मधुपर्कले थालेको स्रष्टा सम्मान परम्पराको प्रशंसा गर्दै कवि मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठहरूले काव्यकारितामा नयाँ धारको प्रयोग सुरु गरेको सम्झना गर्नु भयो ।

मन्तव्य प्रकट गर्ने क्रममा कवि काइँलाले सर्जकलाई दिइने यस्ता पुरस्कारको रकममा कर काटन नहुनेमा जोड दिनु भयाे । 

सम्मान चयन समितिका संयोजक साहित्यकार गणेश रसिकले आफ्नो युवाकालीन समय स्मरण गर्दै नयाँ सडकमा भेटिने कवि श्रेष्ठ र कथाकार लोहनीसँगको सम्बन्धबारे कुरा राख्नु भयो ।  

समालोचक महेश पौडेलले सम्मानित सर्जकहरूको परिचय प्रस्तुत गरेको सो कार्यक्रममा गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले आगामी वर्षदेखि पुरस्कार राशि ५० हजार प्रदान गरिने जानकारी गराउनु भयो ।

सो अवसरमा सम्मानित व्यक्तित्वहरू पुष्कर लोहनी, प्रभा भट्टराई, गोरखापत्र दैनिकका महाप्रबन्धक लालबहादुर ऐरी, मधुपर्कका सम्पादक जयदेव भट्टराईले मधुपर्क प्रकाशन र सम्मान कार्यबारे आ-आफ्नो धारणा राख्नु भएको थियो ।

Categorized in साहित्य-कला
ppp 2