कमल थापा राप्रपा नेपालको अध्यक्षमा चयन, हिन्दुराष्ट्र मूल एजेण्डा
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २, सोमबार
फागुन २, काठमाडौं - राप्रपा नेपालको अध्यक्षमा कमल थापा चयन भएका छन् । राप्रपाबाट अलग्गिएका थापा पहिलै दर्ता भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन् । यो पार्टीको अध्यक्ष लाक्पा शेर्पा थिए । उनले सो पद त्याग गर्दै थापा अध्यक्षमा चयन भएको जानकारी गराएका छन् ।
राप्रपा नेपालको अध्यक्ष पहिला थापा नै थिए । पशुपति राणाको राप्रपासँग पार्टी एकता गरेपछि शेर्पाले राप्रपा नेपाल आफूसँग राखेका थिए । राप्रपा परित्याग गरेर राष्ट्रिय एकता पार्टी नेपाल गठनको तयारीमा रहेका थापालाई शेर्पाले राप्रपा नेपालको स्वामित्व हस्तान्तरण गरेका हुन् ।
थापाले पार्टी ठूलो बनाउने महत्वाकांक्षा र सत्ता केन्द्री रणभुल्लमा परेर गम्भीर राजनीतिक भूल गर्दा विगतको पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब निस्क्रिय र प्रभावविहीन अवस्थामा पुगेको भन्दै नियतिले फेरि ठीक ठाउँमा ल्याइपुर्याएको तर्क गरेका छन् ।
थापाले राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि 'हिन्दुराष्ट्र, सुशासन र समृद्धि' को मूल एजेण्डा बोक्ने उल्लेख गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुने जानकारी दिँदै थापाले राप्रपा नेपालको घोषणासभा फागुन ७ गते काठमाडौं हुने उल्लेख गरेका छन् ।


