STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कम्प्लेक्स निर्माणका लागि गरिएको अवरोध हट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २३, सोमबार

अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ । कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि गरिएका अवरोध हटाउन मार्गप्रशस्त भएको हो । जमीन अतिक्रमणका कारण लामो समयदेखि आधुनिक शपिङ कम्प्लेक्स निर्माण हुन सकेको थिएन । उक्त इजलासका न्यायाधीशद्वय ऋषिराम अधिकारी र गोपाल डाँगीको संयुक्त इजलासले मागबमोजिम बसपार्क क्षेत्रमा रहेका अतिक्रमण हटाएर शपिङ कम्पलेक्स निर्माणका लागि स्थानीय सरकार र स्थानीय प्रशासनका नाममा परमादेश जारी गरेको कानून व्यवसायी लोकबहादुर शाहले जानकारी दिनुभयो । उक्त आदेशमा कोहलपुर नगर विकास समितिको जग्गामा भएको अतिक्रमणसमेत हटाउन भनिएको छ । विगत लामो समयदेखि अस्थायी बसपार्कका रुपमा रहँदै आएको कोहलपुर बसपार्क कालोपत्र गर्ने क्रममा त्यस क्षेत्रमा बस्दै आएका व्यवसायीहरु हट्न नमानेपछि विवाद भएको थियो । उक्त समितिले उपलब्ध गराएको जग्गामा ७२ व्यवसायीले टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएकामा समितिले २०७५ साउनदेखि व्यवसायीसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण गर्ने निर्णय गरेको थियो तर लामो लमयदेखि बस्दै आएको स्थानबाट आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै त्यस क्षेत्रका केही व्यवसायीहरुले जग्गा नछाड्ने अडान लिएका थिए । शपिङ कम्प्लेक्स निर्माणका लागि शहरी विकास मन्त्रालयले डिपिआरसमेत तयार गरिसकेकाले व्यवसायीहरुको अवरोधका कारण काम अगाडि बढ्न सकेको थिएन । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले फैसलाको पूर्ण पाठ प्राप्त भएपछि सोहीअनुसार अगाडि बढ्ने जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय