कम्युनिस्ट आन्दोलनका योद्धा बर्मन बुढा रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार
काठमाडौं - नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा बर्मन बुढा बुधबार बिहान निधन भएको छ ।
योद्धा, अर्थात । बुढाको बुधबार निधन भएको हो । सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए ।
९० वर्षीय बुढा क्यान्सरबाट पीडित थिए । उनकाे उपचारको क्रममा पाटन अस्पतालमा निधन भएकाे थियाे । उनलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहेका थिए । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजया बुढाले जानकारी दिएका थिए ।
बुधबारै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तय भएको छ । बुढालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा लगायत कम्युनिस्ट विचारधारा राख्ने नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन् ।
पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए । यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील रहिसकेका थिए ।
प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषवूषामा कछाड लगाएर उपस्थित भएर चर्चामा रहेका स्व बुढाको विसं २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो । कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्दछन् । दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै उनलाई राष्ट्रपतिले विभूषितसमेत गरिसकेका थिए ।
Categorized in राजनीति