कलाकार तथा पत्रकारबीचकाे फुटसलमा पत्रकार विजयी
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १०, आइतबार
कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फुटसल प्रतियोगितामा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय विशेष समितिले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।
सुकुण्दा फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा आयोजित “कलाकार तथा पत्रकारहरूको सुस्वास्थ्यका लागि” शीर्षकको उक्त प्रतियोगिता काठमाडौं मा सम्पन्न भएको हो। प्रतिस्पर्धात्मक खेलमा फोनिज उपत्यका समन्वय विशेष समितिका खेलाडीहरूले उत्कृष्ट टिमवर्क, प्रभावकारी रणनीति र उच्च खेलभावना प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्। प्रतियोगिताभर उनीहरूको तीव्र आक्रमण, सन्तुलित खेल र मजबुत रक्षापंक्तिले दर्शकको ध्यान आकर्षित गरेको थियो।विजेता टिमलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक संस्थाका संस्थापक अध्यक्ष बासु साही ले कलाकार र पत्रकारबीच आत्मीय सम्बन्ध सुदृढ गर्न तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शनिबार सम्पन्न उक्त प्रतियोगिताले पत्रकारिता र कला क्षेत्रमा आवद्ध व्यक्तिहरूबीच नयाँ उत्साह, सहकार्य र एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्। उक्त प्रतियोगितामा सुकुन्दा फिल्म्स बि टिम सेकेन्ड रनर अप र सुकुन्दा फिल्म्स ए टिम फर्स्ट रनर अप हुन सफल भयाे भने फाेनिजका करन प्रधान बेस्ट प्लेयर र बेस्ट स्काेरर सुकन्दा फिल्म ए टिमका विशु शाही अनि बेस्ट गाेलकिपर ईन्द्र लामा घाेषित भएको थियो ।
Categorized in साहित्य-कला

